काठमाडौं । कोभिड–१९ को प्रकोप बढ्दै गएपछि बीमा समितिले बीमा कम्पनीहरूलाई शाखाहरू बन्द गर्न निर्देशन दिने भएको छ । कोभिडको महामारीको जोखिम न्यूनीकरण गर्न समितिले बीमा कम्पनीहरूको कर्पोरेट कार्यालयमात्रै खोल्न दिएर शाखाहरू भने बन्द गर्ने निर्देशन दिने तयारी गरेको हो । समितिको निर्देशन पछि बमिा कम्पनीहरू आगामी जेठ १३ गतेसम्म बन्द हुन छन् ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भोलि बैठक बसेर अर्को निर्णय नभएसम्मका लागि बीमा कम्पनीका शाखाहरू बनद गर्न निर्देशन दिने बताए । ‘कर्पोरेट अफिस भने ४/५ जना कर्मचारी राखेर सञ्चालन गर्न दिने गरी निर्णय गर्न पल्र्ला,’ उनले भने ‘ केही जोखिम परिहाल्यो भने त्यहिबाट काम गर्ने गरी गर्नुपर्ने हुन्छ ।’
मंगलबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले बीमा कम्पनीहरु बन्द गर्ने निर्णय गरेपछि समितिले पनि बैठक बसेर सो निर्णय गर्न लागेको हो । हाल बीमा कम्पनीहरूले न्यूनतम कर्मचारीमार्फत शाखा सञ्चालन गरिरहेका छन् ।
प्रमुख जिल्ला अधिकारीहरूले बैठकले अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था, संस्थान, बीमा लगायतका कार्यालयहरुको सेवा प्रवाह स्थगन भनेको छ । बीमा कम्पनी स्थगन गर्ने भनिएपनि बैठकले बैंक तथा वित्तीय कम्पनीका विषयमा भने केही बोलेको छैन ।


