images
images

दुर्गम जिल्लाका ८ स्थानमा टेलिकमले पुर्यायो इन्टरनेट सेवा, हेलिकप्टरबाट उपकरण ढुवानी


  • 416
    SHARES
  • २०७८ मंसिर १३ गते सोमबार

    दुर्गम जिल्लाका ८ स्थानमा टेलिकमले पुर्यायो इन्टरनेट सेवा, हेलिकप्टरबाट उपकरण ढुवानी

    काठमाडौं । नेपाल टेलिकमले इन्टरनेट सेवा नभएका हिमाली तथा उच्च पहाडी क्षेत्रका ८ स्थानमा इन्टरनेट सेवा बिस्तार गरेको छ । चालु आर्थिक बर्षको यो अवधिभित्र टेलिकमले सोलुखुम्बुको लुक्ला, स्याङबोचे (एयरपोर्ट), नाम्चेबजार र ताक्सिन्दु, गोरखाको छेकम्पार, बिही (गज्र्याङ डाँडा) र न्याक तथा मनाङको ओडार भ्यु–प्वाइन्ट लगायतका क्षेत्रमा हेलिबप्टर मार्फत उपकरण ढुवानी गरी सो सेवा बिस्तार गरेको हो । 

    सोलुखुम्बुको लुक्ला साइटबाट खुम्बु पासाङल्हामु गाउँपालिकाका वडा नम्बर २ र ३ का लुक्ला, सुर्के, मुसे, नाजिपाङ, चौरीखर्क, स्याङमा र सगरमाथा पदमार्ग लगायतका क्षेत्रमा टुजी र फोरजी सेवा उपलब्ध भएको छ । स्याङबोचे एयरपोर्ट साइटबाट सोही गाउँपालिकाको वडा नम्बर ४ का वस्तीहरु र नाम्चेबजार साइटबाट वडा नम्बर ३ र ५ का नाम्चे, कोङदे, जोरसल्लो लगायतका क्षेत्रमा सेवा उपलब्ध भएको छ । त्यसैगरी टाक्सिन्दु साइटबाट वडा नम्बर १ का नुनथला, खरिखोला, थामडाँडा, बुप्सा, पान्गोम र सगरमाथा पदमार्ग लगायतका क्षेत्रमा सेवा उपलब्ध भएको छ । 

    गोरखाको छेकम्पार साइटबाट चुमनुब्री गाउँपालिका वडा नम्बर ४ अन्तर्गतका छेकम्पार, छोकाङसहित छिमेकी राष्ट्र चीनसँग जोडिएका पर्यटकीय क्षेत्रहरुमा सेवा उपलब्ध भएको छ । गोरखाकै बिही (गज्र्याङ डाँडा) नयाँ साइटबाट सोही गाउँपालिकाको वडा नम्बर ५ अन्तर्गत क्वाकडाँडा, बिही गाउँ, सराङ गुम्बा ल्हो, प्रोक, सामा, लार्केपाससहित मनास्लु ट्रेकिङ रुटलगायतका क्षेत्र र न्याक साइटबाट वडा नम्बर ३ अन्तर्गत न्याक, लिक्पा, डेंग, सिर्दिबास फिलिम, भान्सिङ र मनास्लु ट्रेकिङ रुटलगायतका क्षेत्रहरुमा सेवा उपलब्ध भएको छ । मनाङको ओडार भ्यु प्वाइन्ट साइटबाट न्यासो गाउँपालिका अन्तर्गत ओडार, नाचे, थोंचे, धारापानी, तिल्चेलगायतका क्षेत्रमा सेवा उपलब्ध भएको छ । 

    यसैगरी अन्य ३ (तीन) दुर्गम र विकट स्थानहरुमा हेलिकप्टरबाटै सामान ढुवानी गरी निकट भविष्यमा नेपाल टेलिकमले टुजी र फोरजी सेवा सञ्चालन गर्ने तयारी गरिरहेको छ । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको फाक्दिङ र नाचिपाङ र दार्चुला जिल्लाको व्यास गाउँपालिकाको छाङरु साइटमा टावर स्थापना गरी सेवा सञ्चालन गरिनेछ । 

    हाल यी स्थानहरुमा संरचना निर्माण भइरहेको छ र निकट भविष्यमै टुजी तथा फोरजी सेवा सञ्चालनमा आउने छ । सेवा सञ्चालनमा आए पश्चात यी क्षेत्रका सेवाग्राहीले गुणस्तरीय भ्वाइस तथा डाटा सेवा प्रयोग गरी लाभ लिन सक्नेछन् । तुलनात्मक रुपमा लगानी बढी हुने तर व्यावसायिक रुपले प्रतिफल प्राप्त नहुने यस्ता अति दुर्गम र विकट स्थानहरुमा समेत दूरसञ्चार सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिइरहेको टेलिकमले जनाएको छ ।                                                                                                                         
                                                                                                   
                  


    images

    Logo