काठमाडौं । सन् २०२५ को पहिलो छ महिनामा (जनवरीदेखि जुनसम्म) नेपालमा ५ लाख ७७ हजार ६८९ जना विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको तथ्यांकअनुसार मासिक औसत आगमन करिब ९६ हजार २८१ रहेको छ ।
यो संख्या अघिल्लो वर्षको तुलनामा थोरै घटेको हो । २०२४ को सोही अवधिमा ५ लाख ८३ हजार ११ जना पर्यटक आएका थिए भने कोरोना महामारी अघिको वर्ष २०१९ को पहिलो छ महिनामा ५ लाख ७३ हजार पर्यटक नेपाल आएका थिए ।
हालसम्म सन् २०२५ को जुन महिना पर्यटक आगमनको हिसाबले सबभन्दा उल्लेखनीय रह्यो, जहाँ ७६ हजार ४२५ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो वर्ष २०२४ को जुनमा ७६ हजार ३३३ जना र २०२३ को जुनमा ७२ हजार २५० जना आएका थिए ।
जुन महिनामा कुन देशबाट कति पर्यटक ?
जुन महिनामा नेपाल आउने पर्यटकहरूमध्ये सबैभन्दा धेरै भारतबाट आएका छन् । कुल ३२ हजार ६६२ भारतीय नागरिक नेपाल आएका हुन् । त्यसपछि अमेरिकाबाट ९ हजार ६९६, चीनबाट ६ हजार ७३६, बङ्गलादेशबाट ५ हजार ४४९, र बेलायतबाट २ हजार २८४ जना पर्यटक आएका छन् ।
अन्य उल्लेखनीय देशहरूमा अष्ट्रेलिया (१,८३१), मलेसिया (१,३४८), भुटान (१,१६७), जापान (१,०१९), र दक्षिण कोरिया (१,००२) पर्छन् ।
२०२५ को कुन महिनामा कति पर्यटक ?
जनवरी: ७९,९९१
फेब्रुअरी: ९६,८८०
मार्च: १,२१,६८७
अप्रिल: १,१६,४९०
मे: ८६,२१६
जुन: ७६,४२५


