images
images

दिनभर हारगुहार गर्दा पनि अक्सिजन आएन


  • 587
    SHARES
  • २०७८ बैशाख २९ गते बुधबार

    दिनभर हारगुहार गर्दा पनि अक्सिजन आएन

    भक्तपुर । भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ । 

    अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन पनि मुस्किल परेको छ ।

    जिल्लावासीका एउटै आधार बनेको भक्तपुर अस्पतालमा मङ्गलबार साँझदेखि नै अक्सिजन सकिँदा निकै समस्या परेको छ ।

    अक्सिजनका लागि २४ घण्टा अघिदेखि नै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमदेखि अस्पताल प्रशासनसम्म भौतारिए पनि अक्सिजन पाउन सकेनन् ।

    मेसु डा गौतमले अक्सिजन कम्पनीदेखि सिसीएमसी, स्वास्थ्य मन्त्रालय, प्रदेश मन्त्रालयसम्मलाई दिनभर हारगुहार गर्दा पनि अक्सिजन नआएपछि समस्या परेको बताए ।

    सगरमाथा अक्सिजन कम्पनीबाट विगतमा अक्सिजन ल्याउने गरेको भक्तपुर अस्पतालले त्यहाँबाट पनि अक्सिजन पाउन छाडेपछि जनकपुरदेखि अक्सिजन ल्याउन शुरु गरेको थियो । 

    तर जनकपुरबाट पनि अक्सिजन सहजरूपमा पाउन छाडेको र टाढाबाट ल्याउँदा कम्तीका दुई दिन लाग्ने हुँदा अक्सिजन अभावले अस्पताल भर्ना भएका कोभिडका बिरामीको ज्यान नै जोखिममा परेको छ ।

    सिसीएमसीको लापरवाहीका कारण थप समस्या परेको हो । भक्तपुर अस्पताललाई प्रदेशस्तरीय अस्पताल भन्दै सिसीएमसीले अक्सिजन वितरणको सिफारिसमा दुई दिनदेखि नाम हटाइदिएपछि भक्तपुर अस्पतालले अक्सिजन पाउन नसक्दा दुर्घटनाको अवस्थामा पुगेको अस्पताल प्रशासनको भनाइ छ । 

    भक्तपुर अस्पतालले हाल ३३ शय्या जनरल, ४० शय्या हाइकेयर युनिट, छ शय्या आइसीयू, आकस्मिक कक्ष र टेन्टमा समेत शय्या राखेर ७० कोभिडका बिरामीको उपचार गरिरहेको मेसु डा गौतमले जानकारी दिए ।

    सबै बिरामीलाई हाइफ्लोरको अक्सिजन दिनुपर्ने भएकाले भक्तपुर अस्पतालमा २४ घण्टामा २०० सिलिण्डर अक्सिजन खपत हुने गरेको छ ।

    विगतमा सगरमाथा कम्पनीबाट अक्सिजन आपूर्ति गर्दै आएको अस्पतालले त्यहाँ नपाएपछि बालाजुको अक्सिजन कम्पनीबाट समेत अक्सिजन पाएन । 

    त्यसपछि जनकपुरबाट ल्याएको ८० सिलिण्डर अक्सिजन सकिएको र अरु अक्सिजन नआएपछि हिजो साँझदेखि नै अक्सिजनको अभाव भएको हो ।

     


    images

    Logo