काठमाडौं । कोरोनाको दोस्रो लहर सुरु भएको भन्दै सरकारले फेरि कडाई सुरु गरेको छ । नयाँ प्रजातिको कोरोना संक्रमण देखिन थालेपछि सरकारले विद्यालय बन्दसहितको ११ बुँदे निर्देशिका जारी गर्ने तयारी गरेको छ।
शनिबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले कोरोना रोकथामका लागि नयाँ स्वास्थ्य मापदण्ड तयार पारेको हो।
उपप्रधानमन्त्री एवं सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले पारित गरेको प्रस्ताव अनुमोदनका लागि मन्त्रिपरिषद् बैठकमा लगिनेछ। अनुमोदन भएपछि मात्र लागू गरिनेछ।
प्रस्तावमा संक्रमण बढी भएका स्थानका विद्यालय तथा क्याम्पस कम्तीमा ३ साता बन्द गर्ने तथा रात्रिकालीन व्यवसाय राति १० बजेबाट प्रतिबन्ध लगाउनेलगायत ११ बुँदा छन्। संक्रमणको अवस्था हेरेर एक स्थानीय तहबाट अर्कोमा आवागमनमा पनि कडाइ गर्ने निर्णय बैठकले गरेको छ।
काठमाडौं, पोखरालगायतका सहर तथा केही विद्यालयरक्याम्पसमा कोरोनाको बेलायती नयाँ भेरिएन्ट बढेको र विद्यालय जाने उमेर समूहमा संक्रमण बढी देखिएको सीसीएमसीले जनाएको छ।
बैठकले जनस्वास्थ्यका मापदण्ड कडाइसाथ पालना गर्न र नयाँ प्रजातिको कोरोनाबाट बच्न आम नागरिकमा अपिल पनि गरेको छ।
हाल छिमेकी मुलुक भारतमा नयाँ प्रजातिको कोरोनासहित संक्रमण तीव्र भइरहेकाले नेपालमा पनि जोखिम बढेको छ।