images
images

नेपालगञ्ज–दिल्ली सिधा उडानबारे पहल


  • 713
    SHARES
  • २०८२ श्रावण २६ गते सोमबार

    नेपालगञ्ज–दिल्ली सिधा उडानबारे पहल

    काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणलाई केन्द्रित गरी नेपालगञ्ज–दिल्ली सिधा उडानका लागि पहलकदमी लिनुपर्नेमा जोड दिइएको छ । 

    नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा आज काठमाडौँमा सर्वपक्षीय छलफल भएको थियो । सो छलफलमा राजनीतिक दल, नागरिक समाज तथा सम्बद्ध क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो । उनीहरुले नेपालगञ्ज–दिल्ली सिधा उडानले समग्र देशको आर्थिक समृद्धिमा टेवा पुग्ने भएकाले सरकारले गम्भीरताका साथ भारतसँग छलफल गर्नुपर्ने धारणा राखे । 

    सन् २०१८ मा नेपालगञ्जदेखि दिल्ली बुद्ध एयरले सिधा उडान सञ्चालन गरेको थियो । तर, उडान सुरु गरेको एक महिनापछि भारतीय अधिकारीहरूले ‘स्लट’ उपलब्ध गराउन नसकेपछि उडान स्थगित भएको थियो ।

    त्यसयता बाँके, बर्दियासहित पश्चिम नेपालका जनप्रतिनिधिलगायतले स्थगित उडान पुनः सञ्चालनको माग गर्दै आएका छन् । नेपालगञ्ज–दिल्ली उडानमा भारतीय पक्षले पनि चासो दिएको सम्बद्ध अधिकारीको भनाइ छ । नेपालगञ्ज–दिल्ली सिधा उडान हुँदा नेपाललाई मात्र नभई भारतीय पक्षलाई पनि फाइदा पुग्ने विज्ञहरुको भनाइ छ ।

    उडान स्थगित हुनुमा भारतीय पक्षको सुरक्षा चासो भएकाले सुरक्षाको क्षेत्रका आशंका हटाइ भारतीय पक्षलाई प्रतिबद्धता जनाउँदै प्रधानमन्त्रीमार्फत विश्वास दिलाउनुपर्ने विज्ञहरुको सुझाव छ ।  

    छलफलमा पश्चिम नेपालका प्रतिनिधित्व गर्ने सांसद, स्थानीय तहका प्रतिनिधिको सहभागिता थियो । सांसद सञ्जय गौतम, डा धवलशमशेर राणा, शक्तिबहादुर बस्नेत, सुर्य ढकाल, महेश्वरजङ्ग गहतराज, दिपा शर्मा रुपाखेती, लक्ष्मी तिवारी, शान्ति चौधरी, शोभा ज्ञवाली, जावेदा खातुन, आशा विक, अब्दुल खानलगायतले नेपालगञ्ज–दिल्ली सिधा उडानमा प्रतिबद्धता जनाउँदै होस्टेमा हैंसे गर्न तयार रहेको बताए ।

    नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, महासङ्घका पूर्वअध्यक्ष भवानी राणा, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालगञ्ज–दिल्ली सिधा उडानले पुग्ने फाइदाबारे उल्लेख गर्दै यसका लागि सरकारले पहल गर्नुपर्ने धारणा राखे ।

    पश्चिम नेपालमा आकर्षक पर्यटक गन्तव्यका साथै विभिन्न जडीबुटी, कृषि उत्पादन तथा ऊर्जा क्षेत्रको विकास गर्न सकिने सम्भावना छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कबहादुर धामीले सिधा उडानका लागि सबैको सहकार्य आवश्यक रहेकामा जोड दिए ।

    सांसद सञ्जय गौतमले नेपालगञ्जको भौगोलिक, सांस्कृतिक र आर्थिक क्षमता उच्च रहेकाले सिधा उडान विकासको महत्त्वपूर्ण चरण हुने बताए । सांसद अब्दुल खानले नेपालगञ्जलाई पश्चिम नेपालको पर्यटन प्रवर्द्धनमा अग्रणी आधारका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सांसद धवल शमशेर राणाले भने, “जुन दिन नेपालगञ्ज–दिल्ली सिधा उडान सुरु हुन्छ, त्यही दिन कर्णाली र सुदूरपश्चिमको कायापलट हुनेछ ।” सांसद शक्तिबहादुर बस्नेतले आवश्यक पूर्वाधार र नीतिगत सहयोगका लागि पूर्ण समर्थन जनाए ।


    images

    Logo