images
images

किन खस्कँदैछ युनिलिभरको विरासत, शेयर मूल्यमा छिट्टै पछाडि पर्दै


  • 557
    SHARES
  • २०७७ चैत्र ३० गते सोमबार

    किन खस्कँदैछ युनिलिभरको विरासत, शेयर मूल्यमा छिट्टै पछाडि पर्दै

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत दुई सयभन्दा बढी कम्पनीहरुमध्ये सबैभन्दा बढी शेयरमूल्य भएको कम्पनी हो युनिलिभर नेपाल लिमिटेड । नेप्से परिसूचक १२०० आसपासमा रहँदासमेत बजार मूल्य ३५ हजारभन्दा बढी रहेको सो कम्पनी लढामो समयदेखि बजारमूल्य सर्वाधिक रहने कम्पनीका रुपमा रहँदै आएको छ । लगानीकर्तालाई उच्च प्रतिफल दिएकै कारण लामो समयदेखि सो कम्पनीको शेयरमूल्य अत्यधिक रहेको थियो ।

    पछिल्लो ९ वर्षको लाभांशको अवस्थालाई हेर्ने हो भने सो कम्पनीले सरदरमा वार्षिक ८०० प्रतिशतका दरमा लाभांश दिएको देखिन्छ । कम्पनीले आव २०६८/६९ मा ६८० प्रतिशत लाभांश प्रदान गरेको थियो भने २०६९/७० मा ७६० प्रतिशत लाभांश प्रदान गरेको थियो । त्यसपछिका वर्षहरुमा क्रमशः ८६०, ९९०, १०२०, १२७० प्रतिशतसम्म लाभांश प्रदान गरेको कम्पनीले आव २०७४/७५ मा ७०० र आव २०७५/७६ मा ७७० प्रतिशत लाभांश प्रदान गरेकोमा आव २०७६/७७ को नाफबाट भने १०० प्रतिशतमात्रै लाभांश वितरण गरेको थियो । 

    विरासत किन बन्यो र किन खस्कियो ?

    युनिलिभर नेपाल लिमिटेडको विरासत बन्नुको कारण लगानीमा उच्च प्रतिफल र थोरै चुक्ता पुँजी हुनु नै हो । थोरै चुक्ता पुँजी रहनु, चुक्ता पुँजीमा वृद्धि कहिल्यै नगर्नु, बोनस शेयरको सट्टा नगद लाभांश नदिनु र हकप्रद शेयर जारी नगर्नुले कम्पनीको चुक्ता पुँजी लामो समयदेखि उही नै रहेको छ । कम्पनीको हालको चुक्ता पुँजी ९ करोड २१ लाख रुपैयाँमात्रै रहको छ ।

    थोरै पुँजी भएकै कारण बढी लाभांश दिन सक्नुले एकातिर सो कम्पनीको शेयरमूल्य बढी रहेको हो भने थोरै पुँजी भएकै कारण शेयरमा कर्नरिङ भई निश्चित व्यक्ति वा समूहमा शेयर सीमित भएकाले पनि कम्पनीको बजारमूल्य उच्च रहेको हो । 

    यद्यपि पछिल्लो समय भने सो कम्पनीको शेयरमूल्यमा निकै कमी आएको छ । नेप्से परिसूचकले दिनप्रतिदिन अलटाइम हाई रेकर्ड कायम गरिरहेको बजारमा समेत कम्पनीको शेयरमूल्यमा भने कमी आएको हो । पछिल्लो तथ्याङ्कअनुसार कम्पनीको शेयरमूल्य १९६०१ रहेको छ । जबकि सो कम्पनीको शेयरमूल्य ३६००० हाराहारीमा रहँदा ८–९ हजार शेयरमूल्य रहेको राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य हाल १८ हजारभन्दा बढी पुगिसकेको छ ।

    सो समयमा बजारमा २०० भन्दा कम शेयरमूल्य रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लि.को शेयर मूल्यसमेत ११ हजारभन्दा बढी पुगिसकेको छ । यही अवस्था रहने हो भने आगामी केही दिनमा नै युनिलिभर नेपालको विरासती बजार मूल्यको रेकर्ड तोडिने सम्भावना रहेको छ । 

    युनिलिभर नेपालको विरासती शेयरमूल्यमा कमी आउनुको कारण पनि पछिल्लो समयको खस्कँदो लाभांशको अवस्था हो । केही वर्षअघि १२७० प्रतिशत लाभांश दिएको कम्पनीले आव २०७६/७७ को नाफाबाट १०० प्रतिशतमात्रै नगद लाभांशको घोषणा गरेपछि कम्पनीको शेयरप्रतिको आकर्षण घट्न गएको हो ।

    साथै, पुँजी स्थिरताको योजनाले पनि कम्पनीको शेयरमूल्य घटाउन सहयोग गरेको पाइन्छ । पछिल्लो समयको बढ्दो बजारमा लगानीकर्ताहरुको आकर्षण नगद लाभांशतिरभन्दा बोनस शेयरतिर बढी भएकाले पनि बोनस प्रदान नगर्ने युनिलिभरको शेयरमूल्य घट्दै गएको विश्लेषकहरुको भनाइ छ । 


    images

    Logo