काठमाडौँ । यो साता नेपाल स्टक एक्सञ्चेन्ज (नेप्से) ७३.२३ अंकले घटेको छ । अघिल्लो साता विहीबार २ हजार ४ सय ४९ दशमलव ९७ अंकमा बन्द भएको नेप्से यो साताको अन्तिम कारोबार हुँदा २ हजार ३ सय ७६ दशमलव ७४ अंकमा झरेको हो ।
परिसुचक घट्दा यसको प्रत्यक्ष असर बजार पुँजीकरणमा परेको छ । यो साता बजार पुँजीकरण १ खर्ब २ अर्ब रुपैयाँले घटेर ३३ खर्ब ४१ अर्बमा झरेको छ । अघिल्लो साता यस्तो पुँजीकरण ३४ खर्ब ४४ अर्ब रुपैयाँ रहेको थियो । यो २.९९ प्रतिशतले कम हो ।
यो साता नेप्सेमा निकै ठूलो उतारचढाव भएको छ । आइतबार र सोमबार उच्च अंकले घटेको शेयर बजार मंगलबार सकारात्मक सर्किट लागेर कारोबार समय नसकिँदै बन्द भएको थियो । तर बुधबार तीव्र उतारचढावबीच नेप्से झिनो अंकले घटेर बन्द भयो । विहीबार भने बजारले फेरि ओरालो बाटो लियो । सोही कारण साताभरमा बजारले १ खर्ब रुपैयाँ भन्दा बढीको क्षति ब्यहोर्नु परेको हो ।
यो साता शेयर बजारमा १८ अर्ब २८ करोड रुपैयाँ बराबर ३ करोड ५७ लाख ९४ हजार कित्ता शेयर कारोबार भएको छ । यो कारोबार रकम अघिल्लो हप्ताको भन्दा केही बढी हो । यो साता नेप्से परिसुचक २.९९ प्रतिशतले घट्दा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.५२ प्रतिशतले घटेको छ । यसले साना कम्पनीहरुको मुल्य धेरै घटेको देखाउँछ । त्यस्तै, कारोबारयोग्य शेयरको मापन गर्ने फ्लट इन्डेक्स २.९१ प्रतिशतले घटेको छ । यसले पनि कारोबार योग्य शेयर भन्दा नेप्से धेरै घटेको देखिन्छ ।
बजारमा किन देखियो उतारचढाव ?
नेपालको शेयर बजार पछिल्लो समयमा वियरिस टे«न्डमा छ । वित्तीय क्षेत्रमा तरलता अभाव तथा बढदै गएको ब्याजदरका कारण बजार घट्दो अवस्थामा पुगेको हो । नियामक निकायहरुको बजार प्रतिकुल नीतिका कारण बजारको उच्च गतिमा घटेको आरोप लगानीकर्ताहरुले लगाउदै आएका छन् ।
यो साता भने राजनीतिक कारणले बजार घटेको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पँुजी बजारलाई सामान्तवादको विकसित रुप भनेपछि शेयर लगानीकर्ता आत्तिएका थिए । सोही कारण आइतबार र सोमबार बजार उच्च गतिमा घटेको थियो । तर, मंगलबार अर्थमन्त्री जनार्दन शर्माले बजारको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेपछि बजारमा सकारात्मक सर्किट लागेको हो । बुधबार र विहीबारको गिरावटलाई भने मंगलबारको करेक्सनको रुपमा हेरिएको छ ।
यो साता बजारमा के के भयो ?
१. लाभांश घोषणा
यो साता ११ कम्पनीले लाभांश घोषणा गरेका छन् । आर्थिक वर्ष २०७७÷७८ को असार मसान्तसम्मको नाफा, सिञ्चित नाफा तथा शेयर प्रिमियमबाट प्राप्त रकमबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो ।
यसरी लाभांश घोषणा गर्ने कम्पनीमा सेञ्चुरी कमर्शियल बैंक, प्रोग्रेसिभ फाइनान्स, कृषि विकास बैंक, पोखरा फाइनान्स, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स, मल्टिपर्पस फाइनान्स, आँधिखोला लघुवित्त, गुडविल फाइनान्स, चिलिमे जलविद्युत् र मिथिला लघुवित्त रहेका छन् ।
| कम्पनीको नाम | बोनस शेयर | नगद लाभांश | जम्मा |
| सेञ्चुरी कमर्शियल बैंक | ५.७५ | ०.३० | ६.०५ |
| प्रोग्रेसिभ फाइनान्स | ७ | ०.३६८४ | ७.३६८४ |
| कृषि विकास बैंक | २० | १.०५२६ | २१.०५२६ |
| पोखरा फाइनान्स | ८.०७५ | ०.४२५ | ८.५ |
| शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक | १०.९३ | ०.७५ | ११.६८ |
| सेन्ट्रल फाइनान्स | ७.७ | ३.३ | ११ |
| मल्टिपर्पस फाइनान्स | १३ | ०.५२६ | १३.५२६ |
| आँधिखोला लघुवित्त | १९ | १ | २० |
| गुडविल फाइनान्स | ९.१ | ३.९ | १३ |
| चिलिमे जलविद्युत् कम्पनी | ७.५ | ७.५ | १५ |
| मिथिला लघुवित्त | २५ | १.३१५८ | २६.३१५८ |
२. बुक क्लोज तथा मूल्य समायोजन
यो साता ७ वटा कम्पनीको मूल्य समायोजन भएको छ । प्रभु बैंक, मनकामना स्मार्ट लघुवित्त, सनराइज बैंक, सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, वोमी माइक्रोफाइनान्स, लुम्बिनी विकास बैंकको बुक क्लोज तथा शेयर मूल्य समायोजन भएका छन् ।
३. शेयर सूचीकरण
यो साता नेप्सेमा कुनै पनि कम्पनीको शेयर सूचीकरण भएको छैन ।


विविका तिमल्सिना
