काठमाडौं । नेकपा एमाले निर्वाचनको नतिजा साढे १० बजेभित्रै आउँने भएको छ । एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान सकिए लगतै मतगणनाको प्रक्रिया सुरु भएको हो।
निर्वाचन आयोगले साढे १० बजेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको जनाएको छ। निर्वाचनमा दुई हजार २६३ मतदातामध्ये २ हजार २२७ जनाले मतदान गरेका छन् । ३६ जनाले मतदान नगरेको निर्वाचन आयोगले जनाएको छ ।
बिहान ८ बजेदेखि मतगणना सुरु भएको र साढे १० बजेभित्र नतिजा सार्वजनिक गर्ने तयारी निर्वाचन आयोगले गरेको बताइएको छ । भृकुटीमण्डपमा ८० वटा विद्युतीय मेसिनमार्फत् भोटदिने व्यवस्था मिलाइएको थियो । भृकुटीमण्डपमै मत परिणाम सार्वजनिक गर्ने, प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम राखिएको बताइएको छ ।
एमालेको नयाँ नेतृत्व चयनका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन् । प्यानलमा नपरेका केही स्वतन्त्र उम्मेदवारसमेत चुनावी मैदानमा छन् ।


