काठमाडाै । भारतलाई भारी अन्तरले हराउँदै पाकिस्तानले एसिसी यू-१९ एसिया कपको उपाधि जितेको छ। दुबईमा आइतबारराती सम्पन्न फाइनल भिडन्तमा चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन बनेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको विष्फोटक शतकीय इनिङ्स खेलेपछि पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रनको विशाल योगफल खडा गर्यो। समिरलाई अहमद हुसैनले ५६ रन बनाउँदै बलियो साथ दिए।
यी दुई ब्याटरबीच तेस्रो विकेटका लागि १ सय ३७ रनको महत्वपूर्ण साझेदारी भएको थियो। तीन सय ४८ रनको विशाल लक्ष्य पछ्याएको भारतले आक्रामक सुरुवात गरेपनि त्यसलाई टिकाउन सकेन। पाँचौँ ओभरमै ५० रन पुर्याएको भारतका लागि ओपनर वैभव सूर्यवंशी १० बलमा २६ रन बनाएर आउट भएपछि विकेट पतन शुरू भएको थियाे ।
पावरप्ले (पहिलो १० ओभर) को अन्त्यसम्म पुग्दा भारतले ५ विकेट गुमाएर ६८ रन मात्र बनाउन सक्यो । पूरै खेलमा दबाबकाेसामना गरेकाे भारत अन्ततः ठूलो अन्तरको हार बेहोर्दै उपविजेतामा सीमित बन्न पुग्यो।


