काठमाडौं । प्राइम कमर्सियल बैंकले १ अर्ब ३० करोड प्रोभिजनमा राख्नुपर्ने भएको छ । आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन स्वीकृत गर्दा नेपाल राष्ट्र बैंकले प्राईम बैंकलाई १ अर्ब ३० करोड १२ लाख रुपैयाँ प्रोभिजन थपेसँगै बैंकको नाफामा गिरावट आएको हो ।
कम्पनीले आफ्नो अपरिस्कृत वित्तीय विरण तयार पार्दा कुल १ अर्ब ४१ करोड ९५ लाख रुपैयाँ बराबरको प्रोभिजन गरेको थियो । तर, अन्तिम लेखा परीक्षणपछि राष्ट्र बैंकबाट स्वीकृत गर्ने क्रममा राष्ट्र बैंकको निर्देशनअनुसार २ अर्ब ७२ करोेड ७ लाख रुपैयाँ प्रोभजन गरेको छ ।
गत आर्थिक वर्ष २०८१÷८२ मा प्राइम बैंकले अपरिस्कृत अर्थात् बाह्य लेखापरीक्षणअघि ४ अर्ब २ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको प्रतिवेदन सार्वजनिक गरेको थियो । बाह्य लेखापरीक्षणपछि स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाएको विवरणमा राष्ट्र बैंकले प्रोभिजन थप्दा नाफा ३ अर्ब २० करोड ८ लाख रुपैयाँ कायम भएको छ ।
अन्तिम लेखा परीक्षण गर्दा कम्पनीको खुद ब्याज आम्दानी ८ अर्ब ८२ करोडबाट बढेर ८ अर्ब ९१ करोड पुग्दा पनि नोक्सानी व्यवस्था उच्च मात्रामा बढ्दा नाफा घटेको छ । अपरिस्कृत वित्तीय विरणअनुसार प्राइम बैंकको सञ्चित वितरणयोग्य नाफा २ अर्ब ७८ करोड ८ लाख रहेकोमा अहिले १ अर्ब ७३ करोड ३३ लाख रुपैयाँमा सीमित भएको छ ।
बैंकको अन्तिम लेखा परीक्षण गर्दा पुँजी पर्याप्तता अनुपात ११.३३ प्रतिशत कायम भएको छ । निष्क्रिय कर्जा सुरुमा ५.५६ प्रतिशत देखाएकोमा अन्तिम लेखा परीक्षण गर्दा ५.८१ प्रतिशत पुगेको छ ।


