नवलपुर । नेपालका ७० जिल्लादेखि भारतकाे सिक्किमसम्मका तीनसय अगुवा हाेमस्टेकर्मी नवलपुरकाे कावासाेतीमा भेला भएका छन् । हाेमस्टे सञ्चालन तथा व्यवस्थापनका लागि नयाँ कार्यबिधी बनाउन उनीहरू नवलपुर जिल्ला, कावासाेतीस्थित अमलटारी मध्यवर्ती सामुदायिक होमस्टे बाघखोरमा भेला भएका हुन् ।
हाेमस्टे महासंघको आयोजनामा शुक्रबार सुरु भएको घरबास संचालन कार्यविधि माथि अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम तीन दिनसम्म चल्ने छ । आइतबारसम्म संचालन हुने कार्यक्रमकाे उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सूचना प्रबिधिको विकाससंगै पर्यटनको रुचि फेरिएको र ईन्टरनेटमा हेरेर नयाँ-नयाँ ठाउँ घुम्नेको संख्या बढेको बताए ।
नेपालको सामुदायिक हाेमस्टेको अवधारणा विश्वमै प्रचार भएकाले यसको प्रवर्द्धन गर्न बोर्ड लागिपरेको प्रमुख कार्यकारी अधिकृत जोशीले बताए ।मुलुभरका सबै हाेमस्टेलाई एउटै कार्यविधीमार्फत सञ्चालन गर्नकै लागि बोर्डले पहल गर्दै आएको जाेशीकाे भनाइ थियाे ।

होमस्टे महासंघ नेपालका केन्द्रीय अध्यक्ष प्रेम शंकर मर्दानिया थारुले देशभर रहेका होमस्टेको मर्मलाई मर्न नदिन र निजि तथा सामुदायिक होमस्टे संचालन गर्ने कार्यविधि बनाउन राष्ट्रिय स्तरको गोष्ठी आयोजना गरिएको बताए । पछिल्लो समय विभिन्न प्रदेश र पालिकाले बनाएका कार्यविधिले हाेमस्टेकाे मर्म र माैलिकतामाथि नै प्रश्न उठ्न थालेपछि त्यसलाई एकरुपतामा ल्याउने मुख्य उद्देश्यसहित राष्ट्रिय कार्यशाला कार्यक्रम आयोजना गरिएको अध्यक्ष चाैधरीकाे भनाइ थियाे ।
होमस्टेले ग्रामीण क्षेत्रमा हजारौंलाई रोजगारीको अवसर प्रदान गरेको बताउँदै अध्यक्ष थारुले स्थानीय स्तरमा भएका प्राकृतिक र सांस्कृतिक कुरा खाना तथा भेषभुषा संरक्षण गर्दै नेपालमा होमस्टे कल्चरको विकास भएको अध्यक्ष थारूले बताए ।

कार्यक्रममा होमस्टे महासंघका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज प्रकाश गुरुङले वेलुका आएको पाहुनालाई सेवा सत्कार गर्नुपर्छ भन्ने नेपाली मान्यतालाई आय आर्जनमा जाेडेर हाेमस्टे व्यवसाय २०५४ सालबाट शुरू भएको जानकारी दिए ।
महासंघका महासचिव कृष्ण चौधरीले पुर्व मेचीदेखि पश्चिम महाकालीसम्मका हाेमस्टे सञ्चालनमा एकरुपता ल्याउन र स्थानीय कुराको प्रवर्द्धन गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताए ।
नेपाल पर्यटन वोर्ड र युएनडिपीको साझेदारीमा आयोजनामा गरिएको कार्यक्रममा अब बन्ने कार्यबिधिका विषयमा मिहिन रूपमा छलफल हुने काेषाध्यक्ष सुरज बाँस्तोलाले बताए।
मस्यौदा समितिका सदस्यसमेत रहेका बाँस्तोलाका अनुसार मस्यौदालाई अन्तिम रूपदिन बिभिन्न स्थानमा गरेर नाै चरणमा वैठक बसेर छलफल गरिसकिको छ ।

सामुदायिक हाेमस्टे निर्माण र सञ्चालन गर्न एकरूपता दिन यस्तो कार्यक्रम आयोजना गरिएको हाे । यसअघि विभिन्न प्रदेशले बनाएका नीति नीयममा एकरूपता नहुंदा समस्या भएपछि यस्तो कार्यक्रमकाे आवश्यकता महसुस गरिएको हाेमस्टे महासंघले जनाएको छ ।


पेशल आचार्य
