काठमाडौं । होटल, क्यासिनो तथा रेष्टुरेन्ट क्षेत्रका मजदूरका विभिन्न समस्या समाधानको माग राख्दै नवगठित नेपाल एकीकृत होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियनले श्रममन्त्री कृष्णकुमार श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको छ । युनियनका अध्यक्ष दिनेश घिमिरेको नेतृत्वमा गएको टोलीले आइतबार मन्त्री श्रेष्ठलाइ ज्ञापन पत्र बुझाउँदै ५ बुँदे माग राखेको हो ।
युनियनले बुझाएको उक्त ज्ञापनपत्रमा होटल, रेष्टुरेन्ट र यससँग सम्बन्धित क्षेत्रमा कार्यरत श्रमिकको संख्या र उनीहरुले प्राप्त गरेको सेवा सुविधाको बारेका एकीन गर्ने तथ्यांक संकलन गर्न, त्यस्तो क्षेत्रमा कानूनको कार्यान्वयन भए नभएको अनुगमन गर्न तथा ती क्षेत्रका श्रमिकको क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गर्न माग गरिएको छ ।
त्यस्तै, श्रमिकहरु सामाजिक सुरक्षा कोषमा आवद्ध भएपछि कर्मचारी सञ्चय कोषबाट रकम झिक्न झन्झट भएको भन्दै यसलाई समाधान गर्न माग गरिएको छ । उता, क्यासिनोमा कार्यरत श्रमिककहरुले समयमै तलब भत्ता नपाउने गरेको भन्दै यस्ता क्यासिनोको नवीकरण गर्दा नै श्रमिकलाई पूर्ण रुपमा तलब भुक्तानी गरेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था गर्न माग गरिएको छ ।
कोभिडका कारण अहिले पनि विदेशबाट आउने नागरिकको भिसामा सरकारले कडाइ गरेको र यसले श्रमिकको रोजगारीमा प्रत्यक्ष असर गरेको भन्दे विदेशी नागरिकलाई सहज रुपमा नेपाल घुम्न आउने व्यवस्था गर्न समेत युनियनले माग गरेको छ ।
त्यस्तै, श्रमिकको स्वास्थ्य तथा सुरक्षाको लागि कोभिड–१९ को बुस्टर डोज खोपको व्यवस्था गर्न समेत युनियनले श्रममन्त्रीसँग माग गरेको छ ।
ज्ञापनपत्र बुझ्दै श्रममन्त्री श्रेष्ठले आफू नेपाली श्रमिकका सबै प्रकारका समस्याहरु समाधान गर्न अग्रसर रहेको भन्दै युनियले दिएका सुझाव र गरेका मागहरुलाई सम्बोधन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् ।


