झापा । देशभरीका सञ्चारमाध्यमका प्रतिनिधिहरू यतिबेला झापालाई मुकाम बनाईरहेका छन् । यस्तो लाग्छ, झापा नपुगे पत्रकार नै होइँदैन । ‘ओली कि बालेन ?’ भन्ने बहस देशभरी चल्न थालेका बेला हाम्रो टिम पनि झापा नओर्लिरहन सकेन । यो रिपोर्ट त्यसैको उपज हो ।
झापा क्षेत्र नं. ५ अहिले पत्रकारहरुका माझ मात्रै होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोको निर्वाचन क्षेत्र बनेको छ । २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको (१६५ क्षेत्र) निर्वाचनमध्ये सबैभन्दा चर्चित क्षेत्र यही भएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरका पूर्वमेयर बालेन शाहबीचको चुनावी प्रतिस्पर्धाले देशकै राजनीतिक तापक्रम बढाएको पनि छ । दुवै उम्मेदवारहरु आ–आफ्नो पार्टीबाट प्रधानमन्त्रीका उम्मेदवार भएकाले पनि चर्चा चुलिएको हो ।
१ लाख ६३ हजार मतदाता रहेको झापा ५ मा नेपाली कांग्रेसका उम्मेदवार मन्दरा चिमरिया, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का रञ्जित तामाङ लगायत २४ उम्मेदवारले प्रतिस्पर्धा गर्ने छन् । यस क्षेत्रमा आएको चुनावी उत्साह कायम रहे यस पटक ७५ प्रतिसत मतदान हुने अड्कल काट्न सकिन्छ ।
ओलीको गढ, तर चुनौतीको घण्टी
२०४८ सालदेखि नै यो एमालेको प्रभाव क्षेत्र मानिन्छ । केपी शर्मा ओलीले संविधानसभा पहिलो निर्वाचन बाहेक सबै चुनाव जितेका छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले करिब ५२ हजारभन्दा बढी मत ल्याएर जित निकालेका थिए । निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७ सय ४३ मतमा चित्त बुझाउनु परेको थियो । समानुपातिकतर्फ भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ३५ हजार ८ सय मत प्राप्त गरेको थियो ।
२०७९ को चुनावमा ओलीले राप्रपासँग गठबन्धन गरेका थियो ।
चार पटक प्रधानमन्त्री भइसकेका ओलीको राजनीतिक अनुभव, संगठन शक्ति र पार्टी संरचना बलियो छ । झापा–५ मा दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिका र गौरीगन्ज गाउँपालिकाका टोलटोलमा पुगेर उनले मत मागिरहेका छन् । महारानीझोडा क्षेत्रको धनीपुर्जा समस्या, अव्यवस्थित बसोबासीको व्यवस्थापन, सडक र सिँचाइका काम–यी सबै मुद्दामा उनी प्रत्यक्ष संवाद गरिरहेका छन् । उनीमाथि प्रश्न गर्नेहरुको पनि संख्या धेरै हुन थालेको छ । यसअघिका चुनावमा ओली घर दैलो गर्दैनथे । अलि भरिभराउ टोलमा कोण सभासम्म गर्थे ।
अहिले एउटा भनाई चर्चित छ झापामा, ओलीको चुनावी अभियान पहिलाको तुलनामा ठ्याक्कै उल्टो छ । पहिला–पहिला ओली चुनावी अभियानमा झापा ओर्लीएपछि कमैले भेट पाउँथे । उनी हम्मेसी ब्यक्ति भेट्दैनथे । उनीसँग भेटगर्न समय लिनु पर्थो, चुजी थिए उनी । उनी जिल्ला भन्दा बाहिर बढी हुन्थे । तर जमाना उल्टिएको छ । ओली जोसँगनी भेट गर्छन्, समय लिनु पर्दैन । घर दैलो गरेर अन्यत्र चुनाव प्रचारमा जान पनि भ्याएका छैनन् ।
ओलीका प्रतिस्पर्धी बालेन भने पुराना ओली जस्ता भएका छन् । बालेनलाई भेट्न समय लिनु पर्छ, उनी जो कोहीलाई भेट्दैनन् । घर दैलो नगरेर बालेन देशब्यापी ‘रोड शो’मा छन् ।
झापा ५ मा यस पटक समीकरण पनि फरक छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट बालेन शाह मैदानमा उत्रिएका छन् । २०७९ मा रास्वपाले समानुपातिकतर्फ झापा–५ मा १८ हजार २ सय मत ल्याएको थियो । अहिले झण्डै १० हजार नयाँ मतदाता थपिएका छन् । विश्लेषकहरू भन्छन् – ‘नयाँ पुस्ताको झुकाव रास्वपातर्फ देखिन्छ । यस अर्थ १० हजार नयाँ थपिएकामा ७ हजार मत रास्वपाको चुनाव चिन्ह घण्टीमा गए कसैले अचम्म मान्नु पर्दैन ।’
हामीले रास्वपाको स्थानीय कार्यालय पुगेर नगर सभापति तथा अभियान संयोजकहरूसँग कुराकानी ग¥यौं । उनीहरूको दाबी छ– ‘कांग्रेस, एमाले र अन्य दलबाट कम्तिमा २० हजार मत ‘ट्रान्सफर’ हुनेछ ।’ उनीहरू गणित प्रस्तुत गर्छन् – कांग्रेसको २३ हजार मतबाट ८ हजार, ओलीको ५२ हजार मतबाट १० हजार र अन्य दलबाट केही हजार मत बालेनले तान्ने पक्का जस्तै भइसकेको छ ।’
यसरी जोडघटाउ गर्दा बालेनले ४० हजारको हाराहारीमा मत ल्याउने अनुमान गरिन्छ । ओलीको मत पनि त्यही हाराहारीमा सीमित हुनसक्ने अड्कल गरिएको छ । अर्थात जुधाई प्रतिस्पर्धात्मक छ ।
स्थलगत रिपोर्टिङका क्रममा हामीले भेटेका मतदातालाई मोटामोटी तीन समूहमा राखेर हेर्दा सजिलैगरी बुझ्न सकियो ।
पहिलो समूह, ‘ओलीलाई कसैले हराउन सक्दैन’ भन्ने
ओली निकट मतदाता भन्छन् – ‘५२ हजार मत ल्याएर जितेका नेता हुन् ओली ।’ भर्सक पहिलाको मत घट्दैन, घटेपनि ४० हजारभन्दा तल जाँदैन । उनीहरू ओलीको राष्ट्रिय छवि, अनुभव र पार्टी संरचनामा भरोसा गर्छन् । उनीहरूका अनुसार, ‘चुनाव जित्न ४० हजार मत नै काफी हुन्छ ।’
दोस्रो समूह भन्छ, ‘कडा प्रतिस्पर्धा हुन्छ’
यो समूह गणनामा विश्वास गर्छ । उनीहरू २०७९ को प्रत्यक्ष र समानुपातिक मत तुलना गर्छन् । ‘एमालेको आधार मत ३५ हजार छ, त्यसबाट केही घट्छ । तर नयाँ मतदाता केही थपिन्छन् । उनीहरू भन्छन् – ‘ओली र बालेनबीच ५ हजारभन्दा बढी अन्तर हुँदैन ।’ ५ हजारभन्दा कम मतान्तरमा परिणाम आउनसक्ने विश्लेषण रहेको उनीको भनाई छ ।
तेस्रो समूहको भनाई, ‘बालेनको जीत सुनिश्चित’
यो वर्ग पुराना दलप्रति आक्रोशित छ । ४ पटक प्रधानमन्त्री हुँदा पनि झापा अरु जिल्लाभन्दा माथि पुग्न नसकेको उनीहरूको बुझाई रहेको छ । केहीले ओलीले भक्तपुरको बालकोटमा बसाइँ सरेपछि ‘झापाली’ भन्ने नैतिकता’ गुमाएको आरोप लगाए । उनीहरू भन्छन् –‘पुरानालाई धेरै पटक हेरियो, अब नयाँलाई एकपटक हेरौं ।’
काठमाडौं महानगरमा बालेनले देखाएको कार्यशैली, अनधिकृत संरचना हटाउने, सुशासनको सन्देश दिने लगायतका प्रभाव नै झापामा पनि परेको देखिन्छ । उनीहरुका अनुसार चुनावमा ओली र बालेनको प्रतिस्पर्धा नै छैन । ओलीले २५ हजार ल्याउँदा बालेनले ५० हजार ल्याएर जित्ने उनीहरुको ठोकुवा छ । हल्ला, लहर र मतदाताले खुलेर घण्टी चुनाव चिन्ह भनेको देख्दा असंभव केही छैन भन्न सकिन्छ ।
कांग्रेसको मौन तर निर्णायक शक्ति
नेपाली कांग्रेस पनि यहाँको शक्तिशाली दल हो । २०७९ मा उसले २३ हजार भन्दा बढी मत ल्याएको थियो । कांग्रेसका धेरै स्थानीय नेताहरु ‘रणनीतिक मौनता’ साँधेर बसेका छन् । आफ्नो दलले नजित्ने देखिएकाले उनीहरुको मत ओली हराउ अभियानमा खस्ने आम अड्कल छ । त्यसो भयो भने बालेन जीतमा यसले राम्रैसँग काम गर्ने छ । तर, कांग्रेसका केन्द्रीय सभापति गगन थापाले राष्ट्रिय रुपमा लहर ल्याउने आम अड्कल अनुसार लहर ल्याउन सकेको खण्डमा भने कांग्रेसले कांग्रेसलाई नै भोट हाल्ने स्थिती बन्न सक्छ । यसो भयो भने बालेन शाहले क्षती ब्यहोर्नु पर्ने छ ।
आम सरोकारमा विकाश
झापा–५ को चुनाव राष्ट्रिय नेतृत्वको प्रतिष्ठासँग जोडिएको छ । एमालेको भविष्यमा यहाँको परिणामले असर पार्नेछ । अर्कोतर्फ, बालेनका लागि यो चुनावी परिणाम काठमाडौंको सिमाना नाघेर राष्ट्रिय राजनीति प्रवेशको ढोका बन्न सक्छ ।
तर, मतदाता स्थानीय मुद्दा पनि हेर्छन् – सिँचाइ, धनीपुर्जा, रोजगारी, वैदेशिक पलायन, साना उद्योग, सडक स्तरोन्नति । आदि विषयमा ओलीलाई जनताले प्रश्न गर्न थालेको देखन्छ । युवा पुस्ता सामाजिक सञ्जालमा सक्रिय छ, ‘घण्टी बजाऊ’ अभियान खुलेआम चलिरहेको देखिन्छ । ओली जहाँ जान्छन् त्यहाँ, घण्टी–घण्टी भनेर मानिसले जिस्क्याएका दृश्य हामीले पनि नजिकबाट देख्न पाएका थियौं ।
जिम्मेवारी र नेतृत्व लिने सवालमा घण्टीका बालेन शाह नयाँ उम्मेदवार भएकाले विकाश निर्माणका प्रश्न उनीतिर सोझिएको छैन ।
जित कस्को त ?
बास्तवमा नै एमाले कार्यकर्ताहरुले भने झैं, ओलीले आफ्नो परम्परागत मत जोगाउन सके भने जित सुनिश्चित छ । तर मत जोगाउने चुनौती नै सवैभन्दा ठूलो हो । हजारौं मतदाता खुलेआम रास्वपातर्फ उन्मुख भएको दृश्य सबैका अगाडि छ । बालेनका समर्थकहरू आत्मविश्वासी छन्, तर संगठन संरचना एमालेजस्तो बलियो छैन ।
१ लाख ६३ हजार मतदाता मध्ये ७५ प्रतिसत मत खस्यो भने १ लाख २२ हजार मत खस्ने छ । त्यसमा ७ हजार बदर भयो भने १ लाख १५ हजार सदर मत हुने छ । कांग्रेसले १५ हजार, नेकपा लगायतले २० हजार मत प्राप्त गरेभने बाँकी रहन्छ, ७५ हजार । ओली र बालेनले यही ७५ हजार मत भाग लगाउने स्थिती बन्यो भने माथि भने जस्तो ३५ हजार कटाउनेले चुनाव जित्ने छ । आम अड्कल छ, ५ हजार मत तलमाथि पर्न सक्छ ।
अन्ततः परिणाम मतदाताको अन्तिम निर्णयमा निर्भर हुनेछ । तर एउटा कुरा के स्पष्ट छ भने झापा–५ को चुनाव केवल एउटा क्षेत्रको मात्रै चुनाव होइन । यसको परिणामले राष्ट्रिय राजनीतिलाई नै फरक दिशा दिने छ ।


पेशल आचार्य
दिवस गुरागाईं
