झापा । नेपाली कांग्रेसकी झापा क्षेत्र नम्बर–२ की प्रत्यक्ष उम्मेदवार सरिता प्रसाईंले आफ्नो क्षेत्रमा कांग्रेसको पक्षमा सकारात्मक माहोल बनेको र आफू जित्नेमा विश्वस्त रहेको बताएकी छन् ।
प्रसाईंले क्षेत्रीय समितिको निर्णयअनुसार चुनावी कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिँदै पहिलो चरणमा २५ वटै वडामा कार्यकर्ता भेटघाट सम्पन्न गरेको र हाल दोस्रो चरणअन्तर्गत घरदैलो अभियान जारी रहेको बताइन् । घरदैलोका क्रममा मतदाताबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको उनको भनाइ छ ।
उनका अनुसार विगतमा ‘रुख’ चिन्हमा मतदान हुन नसकेको अवस्था रहेको भए पनि यसपटक कांग्रेसभित्र एकता कायम भएकाले मत एकीकृत हुने विश्वास स्थानीयले व्यक्त गरेका छन् । युवा र विद्यार्थीहरूले पनि कांग्रेसमा युवा नेतृत्व आएको भन्दै समर्थन जनाइरहेको उनले बताइन् ।
प्रसाईंले आफ्नो मुख्य एजेन्डा कृषि आधुनिकीकरण, शिक्षामा सुधार, सुलभ र सस्तो स्वास्थ्य सेवा तथा पर्यटन र जलविद्युत् क्षेत्रमा लगानी विस्तार रहेको बताइन् । कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै किसानलाई राहत दिने, देशको आवश्यकताअनुसारको शिक्षा प्रणाली विकास गर्ने र स्थानीय स्तरमै पर्यटन प्रवर्द्धन गरेर आर्थिक गतिविधि बढाउने योजना उनले सुनाइन् । जलविद्युत् क्षेत्रमा जनसहभागितामूलक लगानीको वातावरण बनाउनुपर्नेमा पनि उनले जोड दिइन् ।
झापा–२ मा १८ जना उम्मेदवार प्रतिस्पर्धामा रहे पनि सबैसँग स्वस्थ प्रतिस्पर्धा हुने उनले बताइन् । संगठन बलियो र मत एकीकृत हुने अवस्था भएकाले कांग्रेसलाई जित सहज हुने उनको दाबी छ ।
मतदाताको मुख्य अपेक्षा भ्रष्टाचार नियन्त्रण र रोजगारी सिर्जना रहेको उल्लेख गर्दै प्रसाईंले युवाहरू विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न पहल गर्ने प्रतिबद्धता जनाइन् ।
अन्त्यमा उनले झापा–२ का मतदातालाई एकपटक नेपाली कांग्रेसलाई जित्ने अवसर दिन आग्रह गर्दै आफूलाई ‘रुख’ चिन्हमा मतदान गर्न अपिल गरेकी छन् ।


