काठमाडौं । आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना रहेको छ । मौसम पूर्वनुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज दिउँसोतिर काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना देखिएको हो।
दिउँसो उपत्यकामा बादल बढ्दै गएर मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको अधिकारीले बताए । अहिले उपत्यकाको आकाशमा आंशिक बादल लागेको छ तर यो पानी पार्ने खालको होइन । दिउँसो आउने बादलले भने मेघगर्जनसहित पानी पार्ने सम्भावना रहेको अधिकारीको भनाई छ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज काठमाडौँसहित देशका अन्य धेरै स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। आज दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक(दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षा र हिमपात हुने सम्भावना छ।


