images
images

‘जनकपुरलाई मधेसको राजधानी बनाउन मेरै योगदान छ’– विमलेन्द्र निधी (भिडियोसहित)


  • 216
    SHARES
  • २०८२ फाल्गुण १४ गते बिहीबार

    ‘जनकपुरलाई मधेसको राजधानी बनाउन मेरै योगदान छ’– विमलेन्द्र निधी (भिडियोसहित)

    जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधी ले नेपाली कांग्रेस नयाँ ऊर्जा र स्पष्ट दिशासहित अघि बढेको बताएका छन् । धनुषा–३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका उनले हालैको एक पत्रकार भेटघाटमा पार्टीभित्र अहिले एकता सुदृढ भएको बताउँदै बहुमतसहित कांग्रेस नेतृत्वको सरकार बन्ने दावी समेत गरेका छन् । 

    फागुन ६ गते जनकपुरमा भएको विशाल आमसभालाई उदाहरण दिँदै निधीले भने, ‘त्यो आमसभाले दिएको सन्देश सकारात्मक छ । नयाँ नेतृत्वले राम्रो दिशा लिएको छ । ‘हामी बदलियौँ, देश बदल्छौँ र देश सम्हाल्छौँ’ भन्ने गगन थापा को युवा ऊर्जा प्रभावकारी देखिएको छ ।’

    ‘जनकपुरलाई मधेसको राजधानी बनाउन मेरै योगदान छ’

    ‘आन्तरिक मतभेद हटाउन म आफैं लागेको छु’
    कांग्रेसभित्र देखिएका मतभेदबारे निधीले खुलेर बोलेका छन् । उनले ती मतभेदलाई समाधान गर्ने प्रयासमा आफू सक्रिय रहेको बताए । ‘आन्तरिक मतभेदलाई म आफैं रुची लिएर हटाउन लागेको छु, जसमा सफलता पनि पाएको छु,’ उनले भने ।

    उनका अनुसार उम्मेदवार छनोट प्रक्रिया, देशको राजनीतिक परिस्थिति र जनताको मनोविज्ञानलाई हेर्दा कांग्रेसका पक्षमा माहोल बन्दै गएको छ ।

    ‘डेमोक्रेसी फ्याक्चर्ड, सिस्टम प्रेक्जर्ड’
    पार्टीको पूर्वउपसभापति समेत रहेका निधीले अहिले देश निर्वाचित सरकार र संसदविहीन अवस्थाबाट गुज्रिरहेको टिप्पणी गरे । ‘डेमोक्रेसी फ्याक्चर्ड भएको छ, पोलिटिकल सिस्टम प्रेक्जर्ड भएको छ, संविधान ग्रिड भएको छ,’ उनले भने, ‘यसको सही उपचार नेपाली कांग्रेसले मात्रै दिन सक्छ भन्ने जनभावना बढेको छ ।’

    उनले कांग्रेसको एकल बहुमत आवश्यक रहेको जिकिर गर्दै गठबन्धनमा निर्भर सरकारबाट प्रभावकारी ‘डेलिभरी’ सम्भव नहुने समेत बताए ।

    डिजिटल शासनमार्फत सुशासनको वाचा
    निर्वाचनपछि बन्ने कांग्रेस नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्राथमिकता दिने निधीको भनाइ छ । त्यसका लागि उनले ई–गभर्नेन्स (डिजिटल गभर्नेन्स सिस्टम) अघि बढाउने योजना सार्वजनिक गरे ।

    ‘पाँच दिन लाग्ने काम पाँच दिनमै, पाँच घण्टाको काम पाँच घण्टामै हुनुपर्छ,’ उनले भने, ‘नागरिकता, लाइसेन्सजस्ता सेवामा अनावश्यक झन्झट अन्त्य गरिनुपर्छ । डिजिटल प्रणालीलाई स्थानीयदेखि संघीय तहसम्म लागू गर्नुपर्छ ।’ सरकारी मात्र होइन, गैरसरकारी क्षेत्रमा पनि पारदर्शी प्रणाली लागू गर्नुपर्ने उनको धारणा छ ।

    ‘अधिकार र विकास कांग्रेसले नै दिएको हो’
    नेता निधीले जनतालाई दुई कुरा आवश्यक पर्ने अधिकार र विकास रहेको बताउँदै यी दुवै क्षेत्रमा बीपी कोइराला को समयदेखि कांग्रेसले काम गर्दै आएको बताए । ‘जसले काम गरेको छ, भोलि पनि त्यसैले काम गर्न सक्छ,’ उनले भने ।

    नयाँ शक्तितर्फ संकेत गर्दै निधीले अनुभवहीन नेतृत्वप्रति सावधानी अपनाउन आग्रह गरे ।
    ‘नयाँ ड्राइभरले जतिबेला पनि दुर्घटना गराउन सक्छ । त्यसैले रूख छापमै मत दिनुस्,’ मउनले मतदातालाई आग्रह गरे ।

    धनुषा–३ का लागि स्वास्थ्य, उद्योग र मल कारखाना
    आफ्नो निर्वाचन क्षेत्र धनुषा–३ का लागि नेता निधीले स्पष्ट प्राथमिकता तय गरेका छन् । ग्रामीण क्षेत्रमा तीन प्रसूति अस्पताल र तीन बाल अस्पताल स्थापना गर्ने योजना उनले सुनाए । युवाहरूका लागि लगानी भित्राई उद्योग र व्यवसाय विस्तार गरी रोजगारी सिर्जना गर्ने प्रतिबद्धता पनि दोहो¥याए ।

    नेपालमा हालसम्म मल कारखाना सञ्चालन नभएको उल्लेख गर्दै उनले आफ्नै जिल्लामा मल कारखाना स्थापना गर्ने पहल गरिरहेको बताए । ‘कृषि प्रधान देशमा मलको हाहाकार हुनु लज्जास्पद हो,’ उनले भने ।

    जनकपुरको विकासमा आफ्नै योगदान दाबी
    नेता निधीले जनकपुरलाई मधेस प्रदेशको राजधानी बनाउन आफ्नो योगदान रहेको दाबी गरे । राजर्षि जनक विश्वविद्यालय स्थापना, ढल्केबर–जनकपुर ६ लेन सडक निर्माण, रेल र हवाई सेवाको विस्तार तथा भारतको अयोध्यासँग कनेक्टिभिटी मजबुत बनाउने काममा आफू निर्णायक भूमिकामा रहेको उनले बताए ।

    ‘जेलनेल भोगेको मान्छे हुँ । संविधान, संघीयता र गणतन्त्रका पक्षमा निरन्तर लडेको छु,’ उनले भने, ‘यहाँका जनताले मेरो प्रतिबद्धता नोटिसमा लिएका छन् । त्यसैले मेरो जित्ने आधार बलियो छ ।’

    आन्तरिक मतभेद समेट्ने प्रयासदेखि डिजिटल शासनको प्रतिबद्धता दोहोरयाउँदै निधीले कांग्रेसलाई एकल बहुमत दिलाउन आह्वान गरेका छन् । उनका अनुसार ‘सुन्दर, शान्त र समावेशी नेपाल’ निर्माणका लागि कांग्रेसको जित अपरिहार्य छ ।


    images

    Logo