काठमाडौं । संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा आज बिहान भूकम्प गएको छ । बिहान सवेरै ३ बजेर १८ मिनेटमा ४ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु संखुवासभाको टोप्के गोला आसपास थियो । भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको थियो ।
बिहानीपखको मस्त निद्रामा रहेकाहरु भूकम्पको धक्का महसुस भएपछि आत्तिँदै घर बाहिर निस्किएका थिए । भुकम्पबाट मानवीय र भौतिक क्षति भएको जानकारी नभएको ती जिल्लाका सुरक्षा अधिकारीहरुले बताएका छन् ।
नेपालको पूर्वी क्षेत्र र भारतीय सीमा क्षेत्रमा बिहिवार दिउसो र राती गरी दुई पटक भुकम्पको धक्का महसुस गरिएको थियो ।


