काठमाडौं । बुधबार नेपाल राष्ट्र बैंकले चैत महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै समग्रमा मूल्य वृद्धि भएपनि खाद्य पदार्थको मूल्य वृद्धि घटेको देखायो । तथ्यांकअनुसार फागुनसम्म ३.८० रहेको खाद्य तथा पेय पदार्थको मूल्य वृद्धि चैतमा आउँदा ०.३१ प्रतिशतले घटेको देखियो । राष्ट्र बैंकको तथ्यांकलाई आधार मान्दा खाद्य पदार्थको मूल्य फागुनको भन्दा अझ कम हुनुपर्ने हो । यसको अनुभव आम उपभोक्ताले गर्न पाउनु पर्ने हो ।
तर, बजार भाउ बुझ्ने हो भने बजारमा कुनै सामान किनिसक्नु थिएन । प्राय सबै खाद्यान्न सामग्रीहरूको मूल्य बढेको छ । फागुनको तुलनामा चैतमा प्रतिकिलो÷ लिटरमा १५ देखि २० रुपैयाँसम्म वस्तुको मूल्य बढेका छ । फागुनमा २७० रुपैयाँको हाराहारीमा रहेको भुटेको तोरीको तेलको मूल्य बढेर ३ सय १० रुपैयाँ देखि ३ सय २० रुपैयाँ पुगिसकेको थियो । भुटेको तोरीको तेलकै रेसियोमा सूर्यमूखी, भटमासको तेलको मूल्य पनि त्यति कै बढेको छ ।
बजारमा तेलको मूल्यमात्रै बढेको होइन अन्य खाद्यान्न दाल, गेडागेढी, चामल, तरकारी तथा फलफूलको समेत मूल्य बढेको छ । चिनीको मूल्य ९० रुपैयाँ पुग्न लागिसक्यो । साढे ३ सय रुपैयाँको अनार किलोको ४ देखि साढे ४ सयसम्म पुगेको छ भने स्याउ तथा अन्य फलफूलको मूल्य पनि त्यति कै बढेको छ ।
लाजिम्पाटका अनुशा अधिकारीले फागुनमा २८० रुपैयाँमा किनेको तेल अहिले ३२० रुपैयाँ र चिनी ९० रुपैयाँ तिरेर किनेको बताइन् भने कालिमाटीका रेनु शाहको अनुभव पनि उस्तै छ । ‘चैतमै बजार मूल्य बढेर छोइनसक्नु भइसकेको थियो,’ उनले भनिन् ‘चैतको भन्दा अहिले अझ खाद्यान्नको मूलय बढेको छ ।
अर्थतन्त्रका विषयमा समेत चासो राख्ने उनले भनिन् ‘सरकारको आँखा महँगिएको सामानमा पर्दो रहेनछ ।’ सामान महँगिएको छ, बढी मूल्य तिर्दै आएका छौं, हामीले बुझेका यतिमात्रै हो । ‘चैत महिनामै बजारमा हरेक वस्तुको मूल्य बढेको छ, जे छोयो त्यसैको मूल्य फागनुको तुलनामा १० देखि २० प्रतिशतसम्म बढेको छ,’ उनले भनिन् ।
नेपाल खुद्रा व्यापार संघको तथ्यांकले पनि फागुनको तुलनामा चैतमा प्राय सबै खाद्यान्नको मूल्य बढेको देखाएको छ । पछिल्लो समय तेलको मूल्य अत्यधिक रुपमा बढेको छ । फागुनको तुलनामा चैतमा मूल्य त बढेकै थियो । वैशाख लागेपछि अझ मूल्य बढेको नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।
‘पछिल्लो समय तेलका साथै अन्य खाद्यान्नको मूल्य अचाक्ली बढेको छ,’ उनले भने ‘खाने तेलको सबैभन्दा बढी मूल्य वृद्धि भएको छ । कोरोना महामारीका बेला बजारमा लुट चलेको छ । बजार मूल्य आँकासिदा पनि सरकारको ध्यान त्यसतर्फ पुग्न सकेको छैन ।’
खुद्रा वस्तुको बजार मूल्यको रेकर्ड राख्ने संघदेखि आम उपभोक्ताले दैनिक मूल्य वृद्धिको अनुभव गरेपनि राष्ट्र बैंकले भने बजारको मूल्य यसरी बढेको पत्तो पाउन सकेन र खाद्य तथा पेय पदार्थको बजार मूल्य फागुनको तुलनामा अझ घटेको देखायो । हुनत राष्ट्र बैंकले वस्तुको मूलय संकलन गर्दा रियल मूल्यमा आधारित भएर गर्दर्छ भने बजार कृतिम हुने भएकोले पनि तथ्यांक र बजार मूल्य फरक देखिएको हुन सक्छ । बजार मूल्य तोक्ने कुनै निकाय छैन । बजारमा आएका वस्तुको मूल्य नै आधार मान्ने हो ।
जस्तै सुनको मूल्य सुनचाँदी व्यवसायी महासंघले तोक्ने गरेको छ । सुनको मूल्य तोक्ने निकाय भएजस्तै खाद्य वस्तुको मूल्य तोक्ने निकाय भए उपभोक्ताले राहत पाउने थिए ।
राष्ट्र बैंकले जुनसुकै महिनामा पनि देशका विभिन्न ६० स्थानबाट वस्तुको मूल्य संकलन गरेर भारित औसत मूल्यका आधारमा एकीकृत तथ्यांक निकाल्ने गरेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख डा.प्रकाश श्रेष्ठले बताए । ‘साप्ताहिक रुपमा वस्तुको मूल्य संकलन गरी संकलित मूल्यलाई प्रशोधन गरेर एकीकृत तथ्यांक निकाल्ने गरिन्छ,’ उनले भने ‘राष्ट्र बैंकले करिब ४ सय वस्तु तथा सेवाको बजार मूल्य संकलन गर्छ । त्यसमा कुनै साता कसैको मूल्य घटेको हुन सक्छ भने कुनै साता बढेको हुन सक्छ ।
स्थान विशेषले पनि फरकपर्ने भएकाले आम उपभोक्ताले देख्दा त्यस्तो देखिएपनि यथार्थमा प्राइमरी बजार मूल्यका आधारमा हामीले सूचकांकहरू प्रकाशित गर्ने हौं ।’ यो तथ्यांक भनेको समग्रता हो ।’ चैतमा घ्यू तथा तेलको मूल्य २१ प्रतिशतले बढेको छ भने माछामासुको मूल्य १२.६ प्रतिशत र दालको ८ प्रतिशतले बढेको छ । यहि कारणमा खाद्य तथा पेय पदार्थको मूल्य बढेको देखिएको हो । यहि बेलामा कतिपय वस्तुको मूल्य घटेको पनि छ ।
बजार मूल्य बढेको विषयमा वाणिज्य तथा आपूर्ति विभागमा उजुरी तथा गुनासो समेत परेको थियो भने सम्बन्धित संघ संस्था तथा उपभोक्तावादीहरूले यस विषयमा विभागलाई जानकारी पनि गराएको थियो ।
यहिबीच खाने तेल, चिनी तथा मासुजन्य पदार्थको मूल्य वृद्धिका सम्बन्धमा उत्पादकहरूलाई बोलाएर विभागले स्पष्टिकरण समेत मागेको थियो । उत्पादकहरूले तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढेको, चिनी भने बाहिरबाट नआएको नेपाली उत्पादनमात्रै भएको र यसको लागत मूल्य नै बढेका कारणले बजार मूल्य बढेको उनीहरू बताएको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए ।
यो विषम परिस्थितिको फाइदा उठाउनुभन्दा उचित मूल्यमा सहज ढंगबाट सामान उपलब्ध गराउने उनीहरूको दायित्व भएको उनको भनाइ छ । ‘हामीले अनुगमन गर्ने भनेको तोकिएको मूल्य अनुसार वस्तु बिक्री भएको छ कि छैन भनेर हेर्ने हो,’ उनले भने ‘उत्पादक तथा व्यवसायीहरूले यस्तो बेलामा कम नाफा खाएर सामान उपलब्ध गराए हुने थियो । तर, उनीहरू नाफा घटाउन तिर लागेनन्, बरु मूल्य बढाउन तिर अग्रसर भए ।’