काठमाडौं । क्षेत्रपाटीस्थित गोर्खा अस्पतालमा कोभिड आइसोलेसन एवम् प्राथमिक उपचार केन्द्र स्थापना भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा उक्त आईसोलेसन एवम् उपचार केन्द्र स्थापना भएको हो । आइसोलेसन संचालन गर्न आज नेपाल उद्योग वाणिज्य महासंघ र काठमाडौं महानगरपालिका वडा नम्वर १७ बीच सहमती भएको छ ।
कोभिड आइसोलेसन एवम् प्राथमिक उपचार केन्द्र स्थापना संचालन सम्बन्धी सहमतिपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र वडा नम्वर १७ का वडाध्यक्ष नविन मानन्धरबीच हस्ताक्षर भएको हो । हस्ताक्षर कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको पनि उपस्थिति रहेको थियो ।
उक्त आइसोलेसन केन्द्र आगामी आइतवारबाट संचालनमा आउने छ भने सेन्टरमा प्रारम्भमा जम्मा ५० बेड रहने छन् र आवश्यकताका आधारमा विस्तार गर्दै पछि १ सय वेडसम्म पुरयाइने छ । कोभिड भई घर वा कोठामा नै आइसोलेसनमा बसी हेरचाह, रेखदेख गर्न सम्भव नरहेका कोभिड विरामीहरूलाई उचित खाना, औषधि, बासस्थानको व्यवस्था गरी स्वास्थ्यकर्मीहरूको निगरानीमा राखी आइसोलेसन सेवा प्रदान गरिने छ ।
केन्द्र अन्तर्गत आइसोलेसनमा रहेका विरामीहरूलाई आपतकालीन रूपमा अक्सिजन दिनुपर्ने भएमा अक्सिन दिई प्राथमिक उपचार गर्ने वा आवश्यकता अनुसार चिकित्सकको सल्लाहमा विरामीहरूलाई सम्बन्धित अस्पतालमा पठाउने व्यवस्था समेत हुनेछ ।
आपसी सहमती अनुसार महानगरपालिका वडा कार्यालयले चिकित्सक, नर्स एवम् स्वयम् सेवकको नियुक्ति एवम् परिचालन गर्ने, आइसोलेसनमा रहेका विरामीहरूको रेखदेख, स्याहार सुसार र स्वास्थ्यकर एवम् पौष्टिक खानाको उपयुक्त व्यवस्थापन गर्ने, आइसोलेसनमा रहेका आपतकालीन वा आकस्किम उपचारको स्थितिमा रहेका विरामीहरूलाई चिकित्सकको सिफारिशमा सम्बन्धित अस्पतालमा पठाइ उपचारको व्यवस्था मिलाउने छ भने महासंघले कोभिड आइसोलेसन एवम् प्राथमिक उपचार केन्द्रको संचालन तथा व्यवस्थापनको लागि आवश्यक पर्ने आर्थिक स्रोत रकम जुटाउने छ ।
केन्द्रको लागि हुने खर्च एवम् खर्च रकमलाई पारदर्शी, मितव्ययी र प्रभावकारी ढंगबाट व्यवस्थापन गर्नका लागि महासंघको स्वास्थ्य समितिका सभापति हेमराज ढकालको सभापतित्वमा खरिद एवम् खर्च व्यवस्थापन समिति गठन गरिएको र उक्त समितिमा भक्त बहादुर हमाल, रविन श्रेष्ठ, बाबुकाजी कार्की र एक जना चिकित्सक सदस्यका छन् ।
सहमतीपत्र हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दैै महासंघका अध्यक्ष गोल्छाले कोभिड महामारिमा सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखी संक्रमितहरूको सहयोगार्थ महासंघ र काठमाडौं महानगरपालिका वडा नम्वर १७ बीच भएको यो सहमती र सहकार्य ऐतिहासिक हुने बताए । कोभिड आइसोलेसन एवम् प्राथमिक उपचार केन्द्र स्थापना एमव् संचालनबाट कोभिड संक्रमित विरामीहरूलाई ठूलो राहत हुने भन्दै अध्यक्ष गोल्छाले आपसी सहमतीलाई पूर्ण पालना गर्न महासंघको तर्फबाट प्रतिवद्धता जनाएका छन् ।
महासंघले कोभिड–१९ को नया भेरियण्टको संक्रमणको महामारिबाट आक्रान्त आम सर्वसाधारणको स्वस्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी विभिन्न सहयोगका कार्यक्रम संचालन गरीरहेको छ । एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल’ थालनी गरेको हो ।


