images
images

सरकारी अस्पतालको मुख्य आम्दानी बन्दै स्वास्थ्य बीमा


  • 325
    SHARES
  • २०७८ पौष १३ गते मंगलबार

    सरकारी अस्पतालको मुख्य आम्दानी बन्दै स्वास्थ्य बीमा

    चितवन ।  भरतपुर अस्पतालको मुख्य आम्दानी स्वास्थ्य बीमा कार्यक्रम बन्दै गएको छ । चार वर्षअघि यस अस्पतालमा बीमा कार्यक्रम सुरु भएको थियो । हालसम्म बीमा कार्यक्रमबाट अस्पतालले  ७२ करोड ६७ लाख रुपैयाँ आम्दानी गरिसकेको छ । 

    थप ४ करोड रुपैयाँ भुक्तानी लिने प्रक्रियामा रहेको छ । बीमा कार्यक्रम लागू भएपछि ४ लाख पटक बीमा दाबी भएको तथ्याङ्क रहेको छ । अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम छुट्टै विभागमार्फत हेरिँदै आएको छ । बीमा कार्यक्रमको दाबी भुक्तानी हेर्दै आउनुभएका लीलाधर पौडेलका अनुसार विसं २०७४ साल भदौ १ गतेबाट यहाँ स्वास्थ्यबीमा कार्यक्रम लागू भएको हो । सुरुमा सामाजिक सुरक्षा कार्यक्रमका रुपमा अघि बढेको यो कार्यक्रम अहिले स्वास्थ्य बीमा बोर्डले हेर्दै आएको छ । 

    उनका अनुसार भरतपुर अस्पताल धेरै स्वास्थ्य बीमामार्फत बिरामीको उपचार गर्ने देशकै तेस्रो अस्पताल हो । नोबल र लुम्बिनी मेडिकल कलेजपछि भरतपुर अस्पतालले धेरै बीमाका बिरामी उपचार गर्दै आएको छ । पौडेलका अनुसार पहिलो वर्ष ३ करोड दुई लाख ३२ हजार रुपैयाँ आम्दानी बीमाबाट भएको थियो । 

    आर्थिक वर्ष २०७५÷७६ मा  १६ करोड ६७ लाख ७३ हजार रुपैयाँ, २०७६÷७७ मा  २० करोड ९३ लाख ५७ हजार रुपैयाँ आम्दानी गरेकोमा कोभिडका कारण गत आर्थिक वर्षमा  १२ करोड ७१ लाख ६८ हजार रुपैयाँ मात्र आम्दानी भएको थियो । चालू आर्थिक वर्षमा  २५ करोड रुपैयाँ भन्दा बढी आम्दानी हुने अनुमान गरिएको पौडेलको अनुमान रहेको छ । गत महिना अस्पतालले ३ करोड ९१ लाख रुपैयाँ स्वास्थ्य बीमा बोर्डसँग दाबी गरेको पौडेलको भनाइ छ । 

    यस हप्ताको आइतबार भरतपुर अस्पतालमा आएका कूल बहिरङग बिरामीमध्ये ७ सय ३४ जना बीमाका रहेका थिए । सोमबार यो सङ्ख्या ६ सय २० रहेको थियो । सोमबार बीमा बाहेकका बहिरङगको टिकट काट्नेको सङ्ख्य ३ सय २७ मात्र थियो । 

    अन्य बिरामी भन्दा झण्डै दोब्बर बीमाका हुने गरेका छन् । पछिल्लो समय अस्पतालले बीमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै बोर्डमा दाबी र भुक्तानीमा पनि ताकेता गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले बीमा बोर्डबाट सेप्टेम्बरमा ४ करोड ५२ लाख रुपैयाँ, अक्टोबरमा १ करोड १० लाख रुपैयाँ, नोभेम्बरमा  १२ लाख ५३ हजार रुपैयाँ र डिसेम्बरमा ८ करोड ६६ लाख भुक्तानी भएको जानकारी दिए । 

    बीमाका बिरामीलाई अन्यत्र जानु नपर्ने गरी अस्पतालले सेवा सुविधा विस्तार गर्दै लगेको उनको भनाइ छ । बिहान ८ः३० बजेबाटै बहिरङग सेवा सुरु गरिएको, दिउँसो ५ बजेसम्म शल्यक्रिया सेवा सञ्चालन गरिएको पौडेल बताउछन् । 

    उनले भने,“जनशक्ति र स्थानका अभावमा सोचे जति गर्न नसके पनि बीमाका बिरामीलाई अधिकतम सुविधा दिने काममा हामी लागि रहेका छौ ।” पहिले–पहिले बहिरङग सेवा भीड हुँदा र शल्यक्रियाका लागि लामो समय पालो कुर्नु पर्दा बिरामी बाहिर लिएर अन्य बीमा कार्यक्रम लागू भएका अस्पतालमा जान बाध्य थिए । बीमा कार्यक्रम प्रभावकारी हुँदै गर्दा अस्पतालको आम्दानीको मुख्य स्रोत बन्दै गएको छ ।

     अस्पतालले वार्षिक  ५० करोड रुपैयाँ हाराहारी आम्दानी गर्दैगर्दा बीमाको हिस्सा झण्डै आधा हुने गरेको अस्पतालले जनाएको छ । चितवन र पूर्वी नवलपरासीका बिरामी बीमा कार्यक्रमका लागि भरतपुर अस्पताल आउने गर्दछन् । यो अस्पताल केन्द्रीय अस्पताल हो । यहाँ चितवनसहित २० भन्दा बढी जिल्लाबाट बिरामी आउने गर्दछन् ।

     स्वास्थ्य बीमा कार्यक्रममार्फत लिइने सेवामा सबैभन्दा बढी बहिरङग सेवा हुने गर्दछ । बीमाबाट बिरामीले लिने सुविधामध्येमा सबैभन्दा बढी पेटको औषधि लिइएको बोर्डले जनाएको छ । नेपालमा सामाजिक सुरक्षा कार्यक्रम विसं २०७२ बाट सुरु भएको हो । 


    images

    Logo