भक्तपुर । काठमाडौं उपत्यकाका सबै १५ सिट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जित्ने संकेत देखिएको छ । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंका सबै १० सिटमा रास्वपाले अग्रता कायम गरेको छ । त्यसैगरी ललितपुरका तीन सिटमा पनि फराकिलो अग्रता बनाएको रास्वपाले भक्तपुरका दुई क्षेत्रमै दरिलो उपस्थिति जनाएको छ ।
यतिसम्म कि कसैले कल्पना समेत नगरेको भक्तपुर निर्वाचन क्षेत्र नं. १ मा समेत रास्वपाको जितको सम्भावना बलियो बनेको छ । २०४८ सालदेखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले जित्दै आएको उक्त क्षेत्रमा मतगणना सुरु भएदेखि रास्वपाका उम्मेदवार रुकेश रन्जितले लगातार अग्रता कायम गरेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार रन्जितले ३० हजार ५८ मत प्राप्त गरेका छन् भने नेमकिपाका प्रेम सुवालले २६ हजार ९ सय ६० मत पाएका छन् ।
नेमकिपाको गढका रूपमा चिनिएको भक्तपुर नगरका सम्पूर्ण वडाको मतगणना सम्पन्न भइसकेको छ भने चाँगुनारायण नगरपालिका–८ र ९ नम्बर वडाको मतगणना जारी छ । त्यसैले पनि यसपटक रास्वपाले ‘मादल’ चिन्हको ऐतिहासिक किल्ला भत्काउने सम्भावना बलियो बनेको छ ।


पेशल आचार्य
