नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुस्तापूर्वको दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन् । विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिक गए राति सुनौलीबाट पूर्वतर्फ आइरहेको भारतीय कन्टेनरले एकतर्फी सडकमा ‘ओभरटेक’ गर्ने क्रममा ती सवारीसाधन ठोक्किएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक कालिकोट रास्कोट नगरपालिका–६ का करिब ३० वर्षीय अमर कार्की, सोही मोटरसाइकल पछाडि सवार रास्कोट–७ का करिब २५ वर्षीय महेन्द्र महतारा घाइते भएका छन् । त्यसैगरी एउटा बसमा सवार छ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार रोल्पा स्मृति गाउँपालिका–४ का बस चालक शङ्कर विष्ट, रामेछाप मन्थली नगरपालिका–१२ का विनोदकुमार अछामी, रोल्पा नगरपालिका–४ लिवाङका उदीराम विष्ट, धरान–१५ का नाम्नुहाङ राई घाइते भएका छन् । घाइते हुने अन्यमा रोल्पा नगरपालिका–२ का दर्शन पोख्रेल, सुनसरी नगरपालिका–५ का चन्द्रसिंह थापा तथा प्युठान स्वर्गद्वारी नगरपालिका–७ का ६० वर्षीय यज्ञप्रसाद भुसाल रहेका छन् ।
घाइते सबैलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको छ । दुर्घटनामापछि फरार कन्टेनर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि अवरुद्ध भएको राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।


