काभ्रेपलाञ्चोक । रोशी खोलाको बाढीले अस्थायी डाइभर्सन बगाएपछि अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ । रोशी खोलामा पानीको बहाव कम भएसंगै बगाएको अस्थायी डाइभर्सन सडक मर्मत गरी सवारी साधन सुचारु गरिएको हो ।
सवारी साधन सञ्चालनमा आएपनि वर्षाको जोखिम कायमै भएकोले सावधानीपूर्वक यात्रा गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले अनुरोध गरेको छ । बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा पर्ने रोशी गाउँपालिकाको चारसयबेशी, गिम्दी, दाउन्ने र कालढुङ्गामा बनाइएको अस्थायी डाइभर्सन गएराती रोशी खोलाले बगाएपछि सडक पुर्ण रुपमा अवरुद्ध भएको थियो ।
सडक विभाग र स्थानीय तहसँगको समन्वयमा अवरुद्ध सडक छ घण्टापछि सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध बनेपछि काठमाडौं तर्फबाट गएका सवारी साधन भकुण्डे र कटुन्जेमा होल्ड गरिएको थियो । त्यस्तै सिन्धुली खण्ड भएर आउने सवारी साधनहरुलाई प्रहरी चौकी दुम्जा र जिल्ला प्रहरी कार्यालयको चेकपोष्टमा रोकिएको थियो।
दुुई वर्षअघिको अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले बिपी राजमार्ग बगाएपछि अहिले भकुण्डे नेपालथोक खण्ड निर्माणाधीन अवस्थामा छ । निर्माणको क्रममा राजमार्गलाई रोशी खोलाको बगरमा डाइभर्सनमार्फत सवारी सञ्चालन गरिएको थियो ।


