भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्र्रा व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न आवश्यक तयारी गरिएको छ । चैत्र २७ गते शुरु भएर वैशाख ५ गते जात्रा सम्पन्न हुने जात्रामा लाखौको सहभागिता रहने गर्छ ।
आठ रात नौ दिनसम्म चल्ने जात्रा शुरक्षित रुपमा सम्पन्न गर्ने हेतुले भक्तपुरका सबै शुरक्षा निकायका प्रमुखहरुले बुधवार रथ निर्माण स्थलको अवलोकन गरेका छन् । अनुगमन टोलीले रथ निर्माण प्रकृया, त्यसको सुरक्षा अवस्था र रथ तान्ने रुटका बारेमा जानकारी लिएको थियो ।
प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालका अनुसार, मानवीय लगायतका सबैखाले क्षतिरहित रुपमा जात्रालाई सम्पन्न गर्न दुई साताअघिदेखि तयारी थालिएको छ । त्यसक्रममा बिभिन्न सारोकारवालाहरुसंग वैठकसमेत गरिरहेको प्रजिअ ढकालले बताए ।
जात्रालाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्ने उदेश्यले रथ निर्माणस्थल लगायत रथ गुडाउने क्षेत्रकोसमेत अवलोकन गरिएको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी शुरेस आचार्यले बताए । अवलोकनका क्रममा जात्राको तयारीका बारेमा गुडी संस्थान भक्तपुरका प्रमुख आनन्द प्रसाद कर्माचार्यकले जानकारी गराएका थिए ।
भक्तपुर नगरको केन्द्रमा रहेको पाँचतले र भैरवनाथको मन्दिर प्रांगणमा बिस्केट जात्राका लागि तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ निर्माण कार्य भइरहेको छ । सो रथ निर्माण कार्य चैत्र २६ गते सकिने प्रमुख कर्माचार्यले जानकारी दिए ।
अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी आचार्य, नेपाली सेनाको रणशेर गणका गणपति निरज प्रताप जवराको सहभागिता रहेको थियो । प्रहरी परिसर भक्तपुरका प्रमुख सुर्य खड्का, सशस्त्र प्रहरी बल गुहेश्वरी गणका प्रमुख बाशुदेव महत, राष्ट्रिय अनुसन्धान कार्यालय भक्तपुर प्रमुख हेमन्त कार्की, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।


