भक्तपुर । भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवमा नयाँ वर्षको दिन सांगीतिक उत्सव हुने भएको छ । दशौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवमा २०८३ सालको बैशाख १ गते राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन् ।
महोत्सवमा हालसम्म करिव ४० हजार दर्शकले अवलोकन गरेको महोत्सवमा राष्ट्रियस्तरका एक दर्जनबढी कलाकारहरुले सांगीतिक प्रस्तुती दिइसेकाछन् । नयाँ वर्षको दिन मंगलवार रचना रिमाल, रामकृष्ण ढकाल, भोजराज काफ्ले, सुनितमि परियार, प्रितम मल्ल, राजन खैराते, दिपक चौलागाई, अनित बिष्ट, रमन तलवार लगायतको प्रस्तुति रहने अध्यक्ष महतले बताए ।
त्यसैगरि अन्य कलाकारहरुमा वर्षा राउत, मेक्सम गौडेल, बिजय बराल लगायतका ख्यातिप्रप्त कलाकारले दर्शकहरुललाई मनोरञ्जन दिनेछन् । नयाँ वर्ष र बिस्काः जात्राको अवसर पारेर विगत १२ वर्षदेखि यस्तो महोत्सव आयोजना हुदै आएको महोत्सवका आयोजक समितिका संयोजक दीपक थापाले जानकारी दिए ।
“कृषि, पर्यटन, दैनिक जीवनका उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामाग्री लगायतको करिव एक सय ५० स्टल रहेको संयोजक थापाले बताए । अध्यक्ष महतका अनुसार, कपडा, भान्सामा प्रयोग गरिने सामाग्री, स्थानीय उत्पादन, खानाका परिकारसहितका स्टलबाट सर्वसाधारणले १० देखि ५० प्रसितशतसम्म छुट पाउँने व्यवस्था मिलाइएको छ ।
महोत्सवको आकर्षणमा बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यान, रोटेपिङ, ब्रेकडान्स लगायत विभिन्न खेलहरु खेल्न सकिनेछ । ज्येष्ठ नागरिकलाई प्रवेश शुल्क नलाग्ने महोत्सवमा विद्यार्र्थीलाई ५० रुपैयाँ र सर्वसाधरणलाई भने १०० रुपैयाँको टिकट लाग्ने मेलाका निर्देशक सुनिल बज्राचार्यले बताए । चैत्र २६ देखि चल्दै आएको महोत्सव सल्लाघारीस्थित तीनकुने चौरमा बैशाख ६ गतेसम्म संचालन हुनेछ ।


