काठमाडौं । नवलपुरको गैंडाकोटमा सम्पन्न नेपाल उद्योग व्यापार महासंघको चौथो वार्षिक साधारण सभा तथा दोस्रो राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सर्वसम्मत निर्णयबाट खिमनारायण पराजुली महासंघको अध्यक्षमा चयन भएका हुन् ।
महाधिवेशनले पराजुलीको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गर्दै संस्थालाई नयाँ गतिमा अघि बढाउने जिम्मेवारी दिएको छ । वरिष्ठ उपाध्यक्षमा यज्ञप्रसाद पन्त चयन हुँदा उद्योग उपाध्यक्षमा दामोदर नेपाल चयन भएका छन् । दामोदर नेपाल होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशका अध्यक्ष समेत हुन् । वाणिज्य उपाध्यक्षमा लोकजंग लामा, वस्तुगत उपाध्यक्षमा शिवराज दुवाडी र एसोसिएट उपाध्यक्षमा दिपेन्द्र विष्ट चयन भएका छन् ।
खुला उपाध्यक्षतर्फ उपेन्द्र चौधरी, रामसुन्दर बके, प्रकाश पाण्डे र जनकराज पराजुली चयन भएका छन् भने महिला उपाध्यक्षमा कल्पना शर्मा निर्वाचित भएकी छन् ।
नयाँ कार्यसमितिको महासचिवमा सूर्य थापा, कोषाध्यक्षमा आशीष कार्की तथा उपमहासचिवमा कुमार थापा चयन भएका छन् । सचिवहरूमा चेतबहादुर खड्का, मिनराज भण्डारी, प्रेम सुनार, तपेन्द्र प्रसाद जोशी र केदारनाथ अधिकारी रहेका छन् भने सह–कोषाध्यक्षमा नेत्रप्रसाद आचार्य चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष पराजुलीले उद्योग तथा व्यापार क्षेत्रका विद्यमान समस्या समाधान, निजी क्षेत्रको सुदृढीकरण र आर्थिक गतिविधिको विस्तारमा आफ्नो नेतृत्व केन्द्रित रहने बताए । उनले निजी क्षेत्रलाई राष्ट्रको अर्थतन्त्रको मेरुदण्डको रूपमा व्याख्या गर्दै यसको हक, अधिकार र सुरक्षाका लागि सशक्त पहल गर्ने धारणा राखे ।
सरकारसँग सहकार्य गर्दै कर, वित्त, श्रम तथा व्यापार नीतिहरूलाई सहज, पारदर्शी र व्यवसायमैत्री बनाउनेतर्फ महासंघ सक्रिय रहने उनको भनाइ छ । साथै, साना तथा मझौला उद्यमलाई सशक्त बनाउँदै राष्ट्रिय अर्थतन्त्रलाई थप मजबुत बनाउने लक्ष्य पनि उनले व्यक्त गरे ।
त्यसैगरी नवनिर्वाचित उद्योग उपाध्यक्ष दामोदर नेपालले सरोकारवाला सबैको सल्लाह र सुझावका आधारमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।


