काठमाडौं । इस्कोन नेपालले कोरोनो महामारी बढ्न थालेपछि विरामीको सेवामा खटिने डाक्टर, नर्स, अन्य कर्मचारी तथा विरामी र विरामीका कुरुवालाई दिउँसोको खाना खुवाउन थालेको छ । इस्कोनले यो महामारीमा जुधिरहेका विरामीको सेवामा खटिने कर्मचारीलाई पोषकतत्वयुक्त खाना खुवाउने उद्देश्य सहित यो अभियान शुरु गरेको हो । संस्थाले बुधबारदेखि उक्त खाना खुवाउने अभियान शुरु गरेको इस्कोन नेपालका मानव संशाधन विभागका व्यवस्थापक भानुभक्त जोशीले बताए ।

‘हामीले अस्ति बुधबारदेखि वीर अस्पतालका कर्मचारी, विरामी तथा विरामी कुरुवालाई दिउँसोको खाना खुवाइरहेका छौं,’ उनले भने ‘यस बाहेक महारजगञ्ज शिक्षण अस्पतालका २० जना विरामी र कान्ति बाल अस्पतालका केही विरामीलाई यसरी नै खाना उपलब्ध गराइ रहेका छौं ।’ लाजिम्पाटको ३ घरका १२ जना सदस्यलाई पनि यसरी नै खाना खुवाइरहेको उनले बताए । इस्कोनले कोभिड संक्रमित विरामीका घरमा खाना डेलिभरी गरिरहेको हो ।

५ सय जनालाई खाना खुवाउन दैनिक ४५ देखि ४० हजार रुपैयाँ खर्च भइरहेको उनले बताए । ‘हामीले १ महिनासम्म यसरी नै खाना खुवाउने योजना सहित यो कार्य आरम्भ गरेका हौं,’ उनले भने । यो खर्च खाद्यान्न र पकाउने खर्चमात्रै हो । अन्य सबै काम भोलिन्टरहरूको सहयोगमा गरिरहेको उनले जानकारी दिए ।
खाना पकाउने काम इस्कोन नेपालअन्तर्गतको फूड फर लाइफले गरिरहेको छ । खाद्य सामग्री तयार गर्ने तथा वितरण गर्ने कामको संयोजन इस्कोन नेपाल, काठमाडौंका रुपेश जोशी र फूड फर लाइफका निर्देशक बिजे्रश लाकौलले गरिरहेका छन् । इस्कोन नेपालले वीर अस्पतालका करिब ३ सय कर्मचारी र १९५ विरामी तथा विरामीका कुरुवालाई दिउँसो १ बजे पोशकतत्व युक्त सहाकारी खाना खुवाएको हो ।

यस अघि उक्त संस्थाले बुढालिनकण्ठ नगरपालिकालगायत १७ वटा सामुदायिक स्कूलका विद्यार्थीहरूलाई दिउँसो खाजा खुवाउने कार्यक्रम सञ्चालन गरेको थियो । अहिले कोरोना महामारीको कारण उक्त कार्य बन्द भएको छ ।
हरेक नागरिकलाई खुशी बनाउने अभियान स्वरुप स्थापना भएको इस्कोन नेपालमा ३ हजारभन्दा बढी आजीवन सदस्य रहेका छन भने करिब ८ हजार अन्य सदस्य रहेका छन् । देशका ४२ स्थानबाट इस्कोनले आफ्नो सेवा विस्तार गरिरहेको छ । इस्कोन नेपालले यो अभियान विभिन्न दाताहरूको सहयोगमा सञ्चालन गरेको हो । इस्कोन नेपालमा हरिकृष्ण मन्दिरका भक्तहरूको ठूलो सहयोग रहेको छ ।

इस्कोन नेपाललाई सहयोग गर्न चाहने दाता तथा सहयोगी हातहरूले मोबाइल नम्बर ९८४८४१४४४७ मा अर्थात इस्कोन नेपालअन्तर्गतको फूड फर लाइफ, नेपालको बुढालिकण्ठस्थित कुमारी बैंकको खाता नम्बर ०२२००४१५७५३००००१ मा जम्मा गरिदिन सक्ने व्यवस्थापनक जोशीले बताए ।