images
images

एमसिए–नेपालद्वारा दुई सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण शुभारम्भ


  • 210
    SHARES
  • २०८३ जेठ २७ गते बुधबार

    एमसिए–नेपालद्वारा दुई सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण शुभारम्भ

    नुवाकोट । मिलेनियम च्यालेञ्ज एकाउण्ट एमसिए–नेपालद्वारा दुई सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण शुभारम्भ भएको छ । विकास समितिले आज मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजनाअन्तर्गत रातमाटे र नयाँ दमौली सबस्टेशन तथा २९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइनको निर्माण कार्य औपचारिक रूपमा थालनी गरेको हो ।

    संयुक्त राज्य अमेरिकाबाट प्राप्त ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९.७० करोड अमेरिकी डलर लगानीमा भइरहेको यस ऐतिहासिक साझेदारीले अन्तरराष्ट्रियस्तरको विद्युत् प्रसारण पूर्वाधार निर्माण र महत्त्वपूर्ण सडक सञ्जालको स्तरोन्नति कार्य गरिरहेको छ । नेपाल सरकारका वरिष्ठ अधिकारीहरू, एमसीसी तथा अमेरिकी दूतावासका प्रतिनिधिहरू, विकास साझेदारहरू, निर्माण व्यवसायीहरू, स्थानीय सरोकारवालालगायतको सामुदायिक अगुवाहरूको सहभागितामा सो कार्यको सुरुआत भएको हो ।

    नेपाल र संयुक्त राज्य अमेरिकाको संयुक्त लगानी रहेको एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रमको विद्युत् प्रसारण आयोजनाअन्तर्गत तीन वटा उच्च क्षमतायुक्त ४०० केभी सबस्टेशन तथा ३१५ किलोमिटर प्रसारण लाइन निर्माण हुँदैछ । यस पूर्वाधारले नेपालको राष्ट्रिय विद्युत् ग्रीडलाई सदृढ पार्नुका साथै प्रसारण अवरोध न्यूनीकरण गर्नेछ । घरपरिवार र व्यवसायका लागि विद्युत् आपूर्तिको भरपर्दोपनामा सुधार गर्नेछ भने क्षेत्रीय विद्युत् बजारमा नेपालको बृहत् सहभागिता गराउन सघाउने विश्वास लिइएको छ ।

    आज शिलान्यास गरिएको २९७ किमि लामो प्रसारण लाइन सञ्जालमा लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा प्रसारण लाइन खण्ड, रातमाटे–न्यू दमौली प्रसारण लाइन खण्ड र न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन खण्ड रहेका छन् । नेपाल सरकारले यो आयोजनालाई देशको आर्थिक भविष्यका लागि गरिएको महत्त्वपूर्ण लगानीका रूपमा आत्मसात् गरेको अर्थ सचिव तथा एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा घनश्याम उपाध्यायले बताए । 

    ऊर्जा सुरक्षा सुनिश्चित गर्न, लगानी र औद्योगिक विस्तार प्रवर्द्धन गर्न र नेपालको ऊर्जा सम्भाव्यताबाट अधिकतम लाभ प्राप्त गर्न विद्युत् प्रसारण पूर्वाधारलाई सुदृढ पार्नु आवश्यक रहेको उपाध्यायको भनाई थियो । नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत  स्कट अर्बमले नेपालसँग संयुक्त राज्य अमेरिकाको लामो समयदेखिको साझेदारी र एमसिसी नेपाल कम्प्याक्टप्रतिको प्रतिबद्धतालाई पुनःपुष्टि गर्दै यस कम्प्याक्टमार्फत नेपालको ऊर्जा भविष्यको मेरुदण्ड निर्माण हुने बताए । 

     एमसिसीका आवासीय राष्ट्रिय निर्देशक डायन फ्रान्सिस्कोले नेपालको आर्थिक वृद्धि र क्षेत्रीय ऊर्जा एकीकरणको दीर्घकालीन महत्वमाथि जोड दिँए । यी लगानीले घरपरिवार, व्यवसाय र उद्योगका लागि भरपर्दो बिजुली आपूर्ति गर्न आवश्यक प्रसारण प्रणालीलाई सुदृढ बनाएर नेपालको ऊर्जा क्षेत्रको पूर्ण सम्भाव्यता उपयोग गर्न मद्दत गर्ने उनको भनाई थियो । 

    समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यवाहक कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण भइरहेका यी पूर्वाधार कुनै छुट्टै प्रणाली नभई नेपालको राष्ट्रिय प्रसारण सञ्जालकै महत्त्वपूर्ण विस्तार भएको बताए । एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले नेपालको ऊर्जा पूर्वाधार विकासका सन्दर्भमा आजको दिन एउटा कोशेढुङ्गाका रूपमा स्थापित भएको बताए । 

    सबस्टेशन तथा प्रसारण लाइन निर्माण कार्यमा चार निर्माण कम्पनी सलग्न रहेका छन् । टेक्नो इलेक्ट्रिक एण्ड इन्जिनियरिङ कम्पनी लिमिटेडले रातमाटे र न्यू दमौली सबस्टेशन निर्माण गर्दैछ भने आशिष–बोझ्लर संयुक्त उपक्रमले ११७ किमि लामो लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा प्रसारण लाइन खण्ड निर्माण गर्नेछ । त्यसैगरी एञ्जेलिक–स्किपर संयुक्त उपक्रमले ९० किमि लामो रातमाटे–न्यू दमौली प्रसारण लाइन खण्ड र वाइबा–सालसर संयुक्त उपक्रमले ९० किमि लामो न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन खण्ड निर्माण गर्दैछन् ।

    निर्माण सम्पन्न भएपछि रातमाटे सबस्टेशन र न्यू दमौली सबस्टेशन नेपालका सबैभन्दा ठूला उच्च–भोल्टेज क्षमताका सबस्टेशनमध्येका हुनेछन् । यी सबस्टेशन तथा प्रसारण लाइन पूर्वाधारले नेपालको विद्युत् प्रसारण सञ्जाललाई सदृढ बनाउनुका साथै दीर्घकालीन ऊर्जा मागलाई सम्बोधन गर्न र आर्थिक वृद्धिलाई तीव्रता दिन सहयोग गर्नेछन् ।




    images

    Logo