images
images

भक्तपुरमा ‘शून्य फोहोर’ बनाउन स्थानीय तह, निजी क्षेत्र र नागरिकको संयुक्त प्रयास


  • 209
    SHARES
  • २०८३ श्रावण ३ गते आइतबार

    भक्तपुरमा ‘शून्य फोहोर’ बनाउन स्थानीय तह, निजी क्षेत्र र नागरिकको संयुक्त प्रयास

    भक्तपुर । फोहोर व्यवस्थापनको जिम्मेवारी स्थानीय तह र सेवा प्रदायक संस्थाको मात्र नभई प्रत्येक नागरिकको पनि भएकोमा जोड दिँदै भक्तपुरलाई ‘शून्य फोहोर’ बनाउने अभियानमा सबै पक्षको साझा सहकार्य अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका छन् ।

    नेपाल प्रेस सोसाइटी र भक्तपुर नागरिक समाजद्वारा शनिबार आयोजित ‘फोहोरमैलाको वर्तमान अवस्था, चुनौती र अवसर’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले ‘आजको सरसफाइ, भोलिको स्वस्थ जीवन’ भन्ने सन्देशलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याए ।

    कार्यक्रममा स्थानीयवासीहरूले फोहोर व्यवस्थापनमा स्थानीय तहले नीतिगत कडाइ गर्नुपर्ने, जथाभावी फोहोर फाल्नेलाई पाँच हजार रुपैयाँसम्म जरिवाना गर्नुपर्ने, नदी–खोलामा फोहोर तथा ढल मिसाउन रोक लगाउनुपर्ने, सार्वजनिक स्थानमा पर्याप्त डस्टबिन राख्नुपर्ने तथा सरसफाइसँगै नागरिकको सोचमा पनि परिवर्तन आवश्यक रहेको धारणा राखे ।

    phohor-2.jfif
    undefined

    सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का अध्यक्ष रविन्द्र सापकोटाले नगरपालिकामा तीव्र रूपमा जनघनत्व बढेसँगै फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताए । उनका अनुसार नगरपालिकामा करिब ३५ हजार घरधुरी रहे पनि फोहोर व्यवस्थापन सेवामा करिब १६ हजार घरधुरी मात्र आबद्ध छन् । बाँकी घरधुरीलाई पनि सेवामा जोड्न नागरिक स्वयं जिम्मेवार हुनुपर्ने उनले बताए ।

    ७ नं वडाका वडा अध्यक्ष तथा नगरप्रवक्ता समेत रहेका सापकोटाले फोहोरको व्यवस्थापन स्रोतमै गर्नुपर्नेमा जोड दिँदै घरधनीले आफ्नै घरअगाडिको सडक सफा गर्ने बानी बसाल्न आग्रह गरे । केही घरधनीले धेरै कोठा भाडामा दिए पनि एक किचनको मात्र शुल्क तिर्ने प्रवृत्तिले समस्या बढाएको उल्लेख गर्दै उनले सेवा शुल्क सम्बन्धी गुनासो भए पनि सेवा प्रदायक संस्थाले सम्झौताअनुसारकै शुल्क लिइरहेको स्पष्ट पारे ।

    नेप्सेम्याक सेवा प्रालिका निर्देशक बाबुराम चौलागाईले फोहोर व्यवस्थापन विश्वव्यापी चुनौती बनेको उल्लेख गर्दै काठमाडौं उपत्यकाबाट दैनिक करिब १,५०० टन फोहोर उत्पादन हुने जानकारी दिए । भक्तपुर जिल्लाबाट मात्र दैनिक करिब २०० टन फोहोर संकलन हुने बताउँदै उनले सूर्यविनायकबाट ५५ टन, मध्यपुर थिमिबाट ५० टन तथा भक्तपुर र चाँगुनारायणबाट २५–२५ टनभन्दा बढी फोहोर उठाइने जानकारी गराए ।

    उनका अनुसार बञ्चरेडाँडा ल्याण्डफिल साइटको क्षमता आधाभन्दा बढी भरिसकेको छ र आगामी ४–५ वर्षपछि त्यहाँ फोहोर व्यवस्थापन गर्न कठिन हुने अवस्था आउनेछ । त्यसैले प्रत्येक स्थानीय तहले आफ्नै ल्याण्डफिल साइट र फोहोर वर्गीकरण केन्द्र निर्माणका लागि जग्गा व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए ।

    phohor-.jfif
    undefined

    चौलागाईले उचित व्यवस्थापन भए फोहोरलाई विद्युत, ग्यास, मल तथा अन्य उपयोगी उत्पादनमा रूपान्तरण गर्न सकिने उल्लेख गर्दै यसबाट स्थानीय आर्थिक समृद्धि र रोजगारी सिर्जनामा समेत टेवा पुग्ने बताए । सूर्यविनायक नगरपालिकाले आवश्यक जग्गा उपलब्ध गराए भक्तपुरलाई ‘शून्य फोहोर’ जिल्ला बनाउन सकिने उनको दाबी थियो ।

    सूर्यविनायक नगरपालिकाका वातावरण शाखाका प्रतिनिधि माधव घिमिरेले वातावरण संरक्षणका लागि नीतिगत र व्यवहारगत दुवै परिवर्तन आवश्यक रहेको बताए । उनले नदी–खोलामा ढल मिसाउने, फोहोर जलाउने तथा जथाभावी फोहोर फाल्ने कार्य रोक्न सबै नागरिकलाई आग्रह गर्दै फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापन सम्बन्धी प्रस्ताव नगरपालिकाले अघि बढाइसकेको जानकारी दिए ।

    नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भक्तपुर नागरिक समाजका महासचिव रामकुमार खड्काले शुभकामना मन्तव्य राखेका थिए भने केशव लुइटेलले स्वागत गरेका थिए । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधि, फोहोर व्यवस्थापनमा संलग्न निजी संस्थाका प्रतिनिधि, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।




    images

    Logo