काठमाडौं । नेपाली कांग्रेसले संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा जलवायु परिवर्तनबारे जनचेतना फैलाउने उद्देश्यले ‘ग्रीन रन’ आयोजना गर्दै मानव सहायता कल्याण कोष स्थापना गर्ने घोषणा गरेको छ । ललितपुरको युएन पार्कबाट सुरु भएको पाँच किलोमिटरको ‘ग्रीन रन’ प्रतियोगितामा करिब १ हजार ४ सय जनाले नाम दर्ता गरेका थिए ।
प्रतियोगितामा मुकेशबहादुर पाल १६ मिनेट १५ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै प्रथम भए । उनले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । यस्तै नरेन्द्रसिंह रावल दोस्रो हुँदै २५ हजार, सञ्जय श्रेष्ठ तेस्रो हुँदै २० हजार, गणेश सिंह चौथो हुँदै १२ हजार, अमृत ठकुरी पाँचौं हुँदै १० हजार र नागेश्वर अहिर छैटौं हुँदै ८ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
महिला प्रतिस्पर्धामा केही धावकले निर्धारित मार्ग पालना नगरेपछि उक्त विधाको दौड पुनः सञ्चालन गरिने कांग्रेसले जनाएको छ । प्रतियोगितामा कांग्रेस सभापति गगनकुमार थापा स्वयं पनि सहभागी भएका थिए भने सयौं व्यक्ति अप्रतियोगीका रूपमा दौडमा सहभागी बनेका थिए ।
दौडपछि जाउलाखेलमा आयोजित जलवायु परिवर्तनसम्बन्धी अन्तरक्रियामा सभापति थापाले ‘ग्रीन रन’ केवल प्रतीकात्मक कार्यक्रम नभई जलवायु संरक्षणप्रतिको राजनीतिक प्रतिबद्धताको सुरुवात भएको बताए । उनले बीपी कोइरालाले दशकौंअघि नै जंगल, जमिन र प्राकृतिक स्रोत–साधनको संरक्षण, दिगो विकास तथा समावेशी समाजको अवधारणा अघि सारेको स्मरण गर्दै कांग्रेसले ती मूल्य र सिद्धान्तलाई व्यवहारमा उतार्ने संकल्प गरेको बताए ।
कार्यक्रममा जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रतियोगिता आयोजना गर्नुका साथै सहभागीहरूलाई विभिन्न प्रजातिका बिरुवा वितरण गरिएको थियो । कांग्रेसले सानेपास्थित केन्द्रीय कार्यालयबाट बिरुवा वितरण अभियानलाई निरन्तरता दिने जनाएको छ ।
यसैबीच कांग्रेसले मानव सहायता कल्याण कोष स्थापना गर्ने घोषणा गरेको छ । सभापति थापाका अनुसार कोषमार्फत घरबारविहीन भएका एकल महिला र बालबालिकालाई सहयोग गरिनेछ । हाल पार्टी सदस्यहरूको सहयोगबाट १० लाख रुपैयाँ संकलन भइसकेको र आगामी दिनमा कोषलाई थप विस्तार गरिने उनले जानकारी दिए ।
कांग्रेसले कोषको विस्तृत कार्ययोजना, पार्टीको राजनीतिक अभियान तथा हाल सञ्चालनमा रहेको ‘जरा अभियान’ को समापनसँगै नयाँ कार्यक्रमहरू भोलि दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष कार्यक्रममा सार्वजनिक गर्ने जनाएको छ ।


