नेपाल धितोपत्र बोर्ड र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(आईक्यान) बीच सूचना आदानप्रदान एवम् पारस्परिक सहयोगका लागि समझदारीपत्र तथा सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बोर्डका अध्यक्ष भिष्म राज ढुंगाना र आईक्यानका अध्यक्ष मदन कृष्ण शर्माले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षरका क्रममा अध्यक्ष ढुंगानाले धितोपत्र बजार, धितोपत्र व्यवसायी, सूचीकृत संगठित संस्थाको वित्तीय विवरणको ढाँचा तयार गर्दै एनएफआरएस कार्यान्वयनमा सहजीकरण गर्न, सूचीकृत कम्पनीहरूको सूचना तथा विवरण प्रवाहमा पूर्णता तथा विश्वसनियता अभिवृद्धि गर्दै लैजानु पर्ने बताए ।
लगानीकर्ताहरूलाई पूर्ण सूचना प्रवाह गर्न सहयोग पुर्याउने लगायतका विषयहरूमा आवश्यक प्राविधिक सहयोग तथा परामर्श आदान प्रदान गर्न यो सम्झौता महत्वपूर्ण भएको उनले बताए ।
यस्तै आईक्यानका अध्यक्ष शर्माले पछिल्लो समय बोर्डले आफ्नो क्षमता अभिवृद्धि गर्दै नियामकिय दायित्व निर्वाह गर्दै आएको बताए । ‘आफ्नो भुमिकाका सक्रिय रहन थालेकोमा मलाई खुशी लागेको छ,’ उनले भने आगामी दिनमा बोर्डसँग आवश्यकता अनुसार सूचना तथा जानकारी आदान प्रदान गर्न तथा प्राविधिक सहयोगका लागि आईक्यान प्रतिबद्ध रहेको छ ।’
उक्त सम्झौताले आगामी दिनमा सुचीकृत संगठित संस्था, धितोपत्र व्यवसायी तथा धितोपत्र बजारका वित्तीय विवरण, सूचना तथा गतिविधिहरू थप पारदर्शी भै समग्रमा पूँजी बजार स्वच्छ, निष्पक्ष एवम् पारदर्शी हुने विश्वास बोर्डले लिएको छ । सम्झौता कार्यक्रममा बोर्ड तथा आईक्यानका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।


