काठमाडौं । नेपालको इन्धन आपूर्ति प्रणालीलाई थप सुरक्षित, व्यवस्थित र दीर्घकालीन बनाउन चितवनको लोथरमा देशकै सबैभन्दा ठूलो पेट्रोलियम भण्डारण गृह निर्माणको औपचारिक सुरुवात गरिएको छ । नेपाल आयल निगमले बुधबार राप्ती नगरपालिका–स्थित लोथरमा भूमि पूजा गर्दै आयोजनाको पहिलो चरणको निर्माण कार्य अघि बढाएको हो ।
भूमिपूजा कार्यक्रममा निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले खुला प्रतिस्पर्धामार्फत निर्माण कम्पनी छनोट गरी प्रारम्भिक निर्माण कार्य सुरु गरिएको जानकारी दिए । पहिलो चरणको निर्माण एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए । यो आयोजना नेपाल–भारत सरकारबीचको सरकार–सरकार ९जीटुजी० सम्झौताअन्तर्गत अघि बढाइएको हो ।
भारतले बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने भएपछि लोथरमा अत्याधुनिक भण्डारण गृह निर्माणको प्रक्रिया अघि बढाइएको हो । परियोजना प्रमुख प्रदीपकुमार यादवका अनुसार करिब २५ बिघा ७ धुर क्षेत्रफलमा फैलिएको आयोजनाको पहिलो चरणमा निर्माणस्थललाई पूर्ण रूपमा निर्माण योग्य बनाइनेछ ।
यसअन्तर्गत जग्गा सम्याउने, आवश्यकता अनुसार ३ देखि १२ फिटसम्म माटो भर्ने, त्यहाँ रहेको सिँचाइ क्यानललाई स्थानान्तरण गर्ने तथा सम्पूर्ण क्षेत्रलाई सुरक्षित बनाउन ११ फिट अग्लो पक्की पर्खाल निर्माण गरिनेछ । प्रारम्भिक पूर्वाधार निर्माणको जिम्मा खुला प्रतिस्पर्धाबाट मोतीधन–डीएस जेभी ले पाएको छ । निगमले उक्त कम्पनीसँग ७९ करोड ५४ लाख रुपैयाँमा सम्झौता गरेको छ ।
सम्झौताअनुसार काम सम्पन्न गर्न १२ महिनाको समय दिइएको भए पनि आयोजनालाई ‘फास्ट ट्र्याक’मा अघि बढाउने तयारी रहेको परियोजना प्रमुख यादवले बताए । यता, नेपाल आयल निगमले प्रारम्भिक निर्माण सुरु गरिसकेसँगै इन्डियन आयल कर्पोरेशन ९आईओसी०ले मुख्य भण्डारण गृह र पाइपलाइन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गरी अन्तर्राष्ट्रिय ठेक्का प्रक्रिया अघि बढाइसकेको छ ।
नेपाल–भारतबीच भएको सम्झौताअनुसार अमलेखगञ्जदेखि लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ । करिब ४ अर्ब २८ करोड रुपैयाँ लागतको पाइपलाइन निर्माण खर्च आईओसीले अनुदानस्वरूप व्यहोर्नेछ भने करिब ९ अर्ब ८० करोड रुपैयाँ लागतको भण्डारण गृह निर्माणका लागि आवश्यक रकम नेपाल आयल निगमले उपलब्ध गराउनेछ । निर्माण कार्य भने आईओसीको प्राविधिक निगरानीमा सम्पन्न गरिनेछ ।
परियोजना सम्पन्न भएपछि लोथरमा ९१ हजार ९ सय किलोलिटर इन्धन भण्डारण गर्न सकिनेछ, जुन नेपालकै सबैभन्दा ठूलो पेट्रोलियम भण्डारण केन्द्र हुनेछ । यहाँ ४६ हजार ५ सय किलोलिटर क्षमताको डिजेल, ३३ हजार किलोलिटर पेट्रोल, १० हजार ८ सय किलोलिटर हवाई इन्धन तथा १ हजार ६ सय किलोलिटर मट्टीतेल भण्डारण गर्न सकिने आधुनिक ट्यांक निर्माण गरिनेछन् ।
अमलेखगञ्ज–लोथर पाइपलाइन १०।७५ इन्च व्यासको हुनेछ, जसबाट प्रतिघण्टा २ सय ७३ किलोलिटर इन्धन सीधै भण्डारण गृहमा पठाउन सकिनेछ । निगमका अनुसार पाइपलाइन र अत्याधुनिक भण्डारण गृह सञ्चालनमा आएपछि ट्यांकरमार्फत हुने ढुवानीमा उल्लेखनीय कमी आउनेछ । यसले ढुवानी खर्च घटाउने, इन्धन चुहावट, प्राविधिक नोक्सानी र मिसावटको जोखिम न्यून गर्ने तथा बागमती प्रदेशसहित आसपासका क्षेत्रको इन्धन आपूर्तिलाई लामो समयसम्म सुरक्षित र भरपर्दो बनाउने विश्वास गरिएको छ ।


