भक्तपुर । मध्यपुर थिमिस्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल आफ्नै अक्सिजन प्लान्ट स्थापना गर्ने भक्तपुरको पहिलो अस्पताल बनेको छ । कोरोना संक्रमण बढेर वजारमा अक्सिजनको हाहाकार भई सर्वसाधारणको ज्यान बचाउन हारगुहार गर्नु परिराखेको समयमा अस्पताले शुक्रबार साँझबाट अस्पताल हाताभित्रै अक्सिजन उत्पादन शुरु गरेको हो ।
मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले नगर पालिकाको ६५ लाख रुपैयाँको लगानीमा चीनबाट ल्याएको अक्सिजन प्लान्ट मेसिन जडान गरी अक्सिजन उत्पादन सुरु गरेको हो । नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठका अनुसार, सो प्लान्टबाट तत्काल दैनिक ३० देखि ३२ सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिन्छ । पछि त्यसलाई विस्तार गरी क्षमता तीन गुणासम्म विस्तार गरेर अस्पतालका लागि आवश्यक सम्पूर्ण अक्सिजन उत्पादन गर्ने लक्ष्य लिइएको नगर प्रमुख श्रेष्ठले बताए ।
अस्पतालका अध्यक्ष समेत रहेका नगर प्रमुख श्रेष्ठका अनुसार, प्लान्टमार्फत् उत्पादन भएको अक्सिजन अस्पतालको आईसीयू, हाइ केयर युनिट र भेन्टिलेटरमा भर्ना भएका कोभिड–१९ का २४ बिरामीसम्म सीधै पाइप मार्फत पुग्न थालेको छ । दैनिक ९० सिलिण्डर अक्सिजन खपत गर्दै आएको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले अब ६० सिलिण्डर अक्सिजन मात्रै अन्यत्रबाट ल्याए पुग्ने भएको अस्पतालले जनाएको छ ।
गएको सातामात्र अक्सिजनको अभाव भएर आइसियु, भेन्टिलेटरमा उपचाररत कोभिडका बिरामीको उपचारमा समस्या परेपछि नगर प्रमुख श्रेष्ठ बिरामीको ज्यान जोगउन हारगुहारगर्दै सिंहदरबार धाउनुपरेको थियो ।
समयमा अक्सिजन उपलव्ध नहुँदा अन्य सबै काम छाडेर कहिले स्वास्थ्य मन्त्रालय त कहिले उपप्रधानमन्त्री, सचिव भेट्न दौडिनु परेको तितो अनुभव नगर प्रमुख श्रेष्ठसँग छ । पहिलो प्रयासमा थोरै भएपनि अक्सिजन उत्पादन शुरु भएपछि अक्सिजनकै अभावमा बिरामीको ज्यान जाने अवस्थाको अन्त्य भएको नगर प्रमुख श्रेष्ठले बताए ।


