काठमाडौं । बागमती प्रदेशका पूर्व स्वास्थ्यमन्त्री किरण थापा मगरको राजनीतिक यात्रा स्थानीय तहको नेतृत्वबाट सुरु भएर प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयसम्म पुगेको छ। सामाजिक सेवाबाट सार्वजनिक जीवनमा स्थापित भएका थापा पछिल्ला वर्षहरूमा स्वास्थ्य क्षेत्रका नीति, पूर्वाधार, डिजिटल प्रणाली, ग्रामीण स्वास्थ्य सेवा विस्तार तथा स्वास्थ्य सुधारका कार्यक्रममार्फत चर्चामा रहेका छन्।
सूर्यविनायक नगरपालिका–८ सिपाडोलबाट सामाजिक अभियन्ताका रूपमा परिचित बनेका थापाले राजनीति अघि नै विभिन्न सामाजिक तथा धार्मिक संस्थामा सक्रिय भूमिका निर्वाह गरेका थिए। डोलेश्वर महादेव मन्दिर संरक्षण समितिमा सचिव, उपाध्यक्ष हुँदै कार्यवाहक अध्यक्षसम्मको जिम्मेवारी सम्हालेका उनले मन्दिर संरक्षण, भौतिक पूर्वाधार विकास, धार्मिक पर्यटन प्रवर्द्धन तथा डोलेश्वरलाई केदारनाथको शिरका रूपमा स्थापित गराउने अभियानमा सक्रिय योगदान दिएको उल्लेख गरिएको छ।
सामाजिक सेवालाई निरन्तरता दिँदै उनले नेपाल रेडक्रस सोसाइटीमा करिब दुई दशक विभिन्न जिम्मेवारीमा काम गरे। सिपाडोल उपशाखाको तीन कार्यकाल सभापति र भक्तपुर शाखाको दुई कार्यकाल उपसभापति रहेका उनले रक्तदान, विपद् व्यवस्थापन र मानवीय सेवाका कार्यक्रम सञ्चालन गरेका थिए। त्यस्तै रोटरी क्लब, नेपाल तेक्वान्दो संघ बागमती प्रदेश, सूर्यविनायक उद्योग वाणिज्य संघ, परोपकारी संस्था तथा विभिन्न युवा क्लबमार्फत पनि उनी सामाजिक गतिविधिमा सक्रिय रहे।
भूकम्पदेखि कोरोना महामारीसम्म अग्रपंक्तिमा
२०७२ सालको महाभूकम्पपछि राहत वितरण, पुनःस्थापना तथा पीडितको सहयोगमा सक्रिय रहेका थापा कोरोना महामारीका बेला पनि अग्रपंक्तिमा देखिए। महामारीका समयमा निःशुल्क पीसीआर परीक्षण, स्वास्थ्य सामग्री वितरण, अक्सिजन व्यवस्थापन, संक्रमितलाई अस्पताल पुर्याउने, शव व्यवस्थापनमा सहयोग तथा स्वास्थ्य सामग्री उपलब्ध गराउने कार्यमा उनी संलग्न रहेको विवरणमा उल्लेख छ।
कोरोना संक्रमणका कारण काठमाडौं उपत्यका छाडेर पैदल घर फर्किरहेका नागरिकका लागि खाना, पानी तथा निःशुल्क यातायातको व्यवस्था गरिएको थियो। विदेशबाट फर्किएका नेपालीका लागि जगातीस्थित भातेढिकुरमा एक सय शैयाको होल्डिङ सेन्टर स्थापना गरी दुई हजारभन्दा बढी व्यक्तिलाई निःशुल्क बसोबास, खाना तथा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको उल्लेख गरिएको छ।
सूर्यविनायक नगर अस्पतालको अवधारणा
कोरोना महामारीकै क्रममा आफ्नै नगरमा पर्याप्त स्वास्थ्य सेवा आवश्यक रहेको निष्कर्षपछि सूर्यविनायक नगर अस्पताल निर्माणको अवधारणा अघि सारिएको थियो। जगातीस्थित इँटा तथा टायल कारखाना रहेको जग्गामा अस्पताल निर्माणको प्रस्ताव अघि बढाइएपछि संघीय सरकार, नगरपालिका तथा अन्य निकायको सहकार्यमा २५ शैयाको अस्पताल निर्माण सम्पन्न भएको थियो।
स्वास्थ्यमन्त्री भएपछि उनले उक्त अस्पताललाई ट्रमा सेन्टरका रूपमा विस्तार गर्ने, ५० शैयासम्म स्तरोन्नति गर्ने, आवश्यक उपकरण उपलब्ध गराउने तथा दधिकोटमा शाखा अस्पताल सञ्चालनका लागि बजेट व्यवस्थापन गर्ने पहल गरेको विवरणमा उल्लेख छ।
व्यवसाय र युवालाई रोजगारी
राजनीतिमा आउनुअघि व्यवसायीका रूपमा परिचित थापाले काठमाडौं, भक्तपुर र सिन्धुपाल्चोकमा विभिन्न व्यवसाय सञ्चालन गरेका थिए। व्यवसायमार्फत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा पाँच सयभन्दा बढी युवालाई रोजगारी प्रदान गरिरहेको दाबी गरिएको छ। साथै युवा स्वरोजगार, सीप विकास र लगानी प्रवर्द्धनका कार्यक्रममार्फत युवालाई प्रोत्साहन गर्ने प्रयास पनि गरिएको उल्लेख छ।
पारिश्रमिकबाट स्थापना भयो अक्षय कोष
सूर्यविनायक नगरपालिकाको वडा अध्यक्ष रहँदा उनले सरकारी सेवा–सुविधा नलिई प्राप्त पारिश्रमिक बचत गरी १५ लाख रुपैयाँको 'जगतबहादुर स्मृति अक्षय कोष' स्थापना गरेको उल्लेख गरिएको छ। पछि उक्त कोषको रकम ४० लाख रुपैयाँभन्दा बढी पुर्याइएको र त्यसबाट आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, पोशाक तथा शैक्षिक सामग्री वितरण भइरहेको जनाइएको छ।
प्रदेश स्वास्थ्यमन्त्री बनेपछि पहिलो निर्णय
२०७९ को निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ (क) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थापा २०८१ साउन ९ गते बागमती प्रदेशको स्वास्थ्यमन्त्री नियुक्त भएका थिए। मन्त्रीको रूपमा पदभार ग्रहण गरेलगत्तै उनले विपन्न परिवारका क्यान्सर रोगीलाई उपचारका लागि एक लाख रुपैयाँसम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेका थिए।
स्वास्थ्य क्षेत्रमा रहेका अनियमितता हटाउने, ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने, स्वास्थ्य संस्था व्यवस्थित गर्ने तथा स्वास्थ्य पूर्वाधार सुधार गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रम अघि बढाइएको उल्लेख छ।
स्वास्थ्य सुधारका नीतिगत पहल
उनको कार्यकालमा प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ संशोधन गरी नयाँ कानुनी व्यवस्था लागू गरिएको थियो। स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन, अनुमति, नवीकरण तथा स्तरोन्नतिसम्बन्धी नियमावली र मापदण्ड जारी गरिएका थिए।
लामो समयदेखि रोकिएको स्वास्थ्य संस्था दर्ता तथा नवीकरण प्रक्रिया डिजिटल प्रणालीमार्फत सञ्चालनमा ल्याइयो। Hospital Registration and Renewal System (HRRS) लागू गरी अनुमति, नवीकरण तथा स्तरोन्नतिलाई अनलाइन प्रणालीमा आधारित बनाइएको थियो।
डिजिटल स्वास्थ्य सेवामा जोड
उनको कार्यकालमा बागमती डिजिटल हेल्थ कार्यक्रम सुरु गरिएको थियो। यसमार्फत नागरिकले मोबाइल एपबाट अस्पतालमा उपलब्ध शय्या, चिकित्सकीय सेवा, टिकटको अवस्था तथा बिरामीको चापबारे जानकारी लिन सक्ने व्यवस्था गरिएको उल्लेख छ।
त्यस्तै ल्याब रिपोर्ट अनलाइन उपलब्ध गराउने, क्यूआर कोडमार्फत प्रतिवेदन डाउनलोड गर्न सकिने व्यवस्था, ई–गुनासो प्रणाली, डिजिटल अस्पताल व्यवस्थापन तथा सबै प्रादेशिक अस्पतालमा क्रमशः EMR प्रणाली लागू गर्ने काम अघि बढाइएको जनाइएको छ।
गाउँ–गाउँमा स्वास्थ्य सेवा
प्रदेशका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकतामा राखिएको विवरणमा उल्लेख छ। विभिन्न जिल्लामा बृहत स्वास्थ्य शिविर सञ्चालन, पोर्टेबल अल्ट्रासाउन्ड मेसिन वितरण, एक्स–रे तथा अल्ट्रासाउन्ड सेवा विस्तार, स्वास्थ्य उपकरण हस्तान्तरण तथा विशेषज्ञ चिकित्सकसहितको टोली गाउँ–गाउँमा पुग्ने कार्यक्रम सञ्चालन गरिएको थियो।
महाभारत गाउँपालिका, राक्सिराङ, गंगाजमुना, ठोरी, रामेछाप, दोलखा, सिन्धुपाल्चोक लगायतका दुर्गम क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरी हजारौं नागरिकलाई सेवा प्रदान गरिएको उल्लेख गरिएको छ।
टेलिमेडिसिन र अस्पताल विस्तार
भक्तपुर अस्पताललाई हब अस्पतालका रूपमा विकास गर्दै टेलिमेडिसिन सेवा सुरु गरिएको थियो। सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको अस्पताललाई स्पोक अस्पतालका रूपमा जोडेर विशेषज्ञ सेवा उपलब्ध गराउने व्यवस्था गरिएको थियो।
जिल्ला अस्पतालहरूमा सिटी स्क्यान, एमआरआई, डायलासिस, न्यूरोलोजी, मुटुरोग, स्तन क्यान्सर परीक्षण, मानसिक स्वास्थ्य सेवा तथा बर्न उपचार सेवा विस्तार गर्ने योजना अघि बढाइएको उल्लेख छ। विभिन्न अस्पतालमा नयाँ भवन, उपकरण तथा जनशक्ति व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको जनाइएको छ।
आयुर्वेद र जनस्वास्थ्यमा विशेष प्राथमिकता
चितवन, नुवाकोट, मकवानपुर तथा ललितपुरका आयुर्वेद अस्पतालहरूको सेवा विस्तार गरिएको उल्लेख छ। आयुर्वेद औषधि उत्पादन केन्द्र स्थापना गरी विभिन्न प्रकारका आयुर्वेदिक औषधि उत्पादन तथा निःशुल्क वितरण सुरु गरिएको थियो।
'मेरो स्वास्थ्य, मेरो जिम्मेवारी' अभियान, 'एक जिल्ला–एक स्वस्थ सहर', 'एक स्थानीय तह–एक नमुना स्वास्थ्य संस्था' तथा 'एक विद्यालय–एक नर्स' कार्यक्रमलाई पनि प्राथमिकताका साथ अघि बढाइएको थियो। नसर्ने रोग नियन्त्रण, मानसिक स्वास्थ्य प्रवर्द्धन, खुला व्यायामशाला स्थापना तथा स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरिएको विवरणमा उल्लेख गरिएको छ।
विपद् व्यवस्थापनदेखि स्वास्थ्य बिमासम्म
प्रदेशस्तरीय स्वास्थ्य विपद् पूर्वतयारी, द्रुत प्रतिकार्य समिति, स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र तथा बहुप्रकोपीय स्वास्थ्य जोखिम मूल्याङ्कन प्रणालीलाई सक्रिय बनाइएको थियो। साथै सीमान्तकृत, लोपोन्मुख समुदाय, आश्रममा आश्रित व्यक्ति, अपाङ्गता भएका नागरिक तथा महिला स्वास्थ्य स्वयंसेविकाका परिवारलाई स्वास्थ्य बिमामा आबद्ध गर्ने कार्यक्रम पनि सुरु गरिएको उल्लेख गरिएको छ।
मुख्यमन्त्रीको चर्चासम्म
सामाजिक सेवादेखि स्थानीय तह, प्रदेशसभा र स्वास्थ्य मन्त्रालयसम्मको यात्रामा विवादरहित छवि कायम राखेको दाबी गर्दै दस्तावेजमा किरण थापालाई बागमती प्रदेशको सम्भावित मुख्यमन्त्रीका रूपमा समेत चर्चा हुन थालेको उल्लेख गरिएको छ। स्वयं थापाले भने पार्टीले दिएको जुनसुकै जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।


पेशल आचार्य
