images
images

राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न, उत्पादन परीक्षण जारी


  • 94
    SHARES
  • २०८३ भाद्र ८ गते सोमबार

    राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न,  उत्पादन परीक्षण जारी
    म्याग्दी । म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको भौतिक निर्माण र उपकरण जडानको काम सकिएको हो ।
     
    रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले राहुघाट जलविद्युत् आयोजना विद्युत् उत्पादनको तयारीमा रहेको जानकारी दिए । बाँध, डिसेन्डर, सुरुङ, स्विचयार्डको परीक्षण सफल भइसकेको आयोजनाले जनाएको छ । आयोजनाबाट २० मेगावाट क्षमताको एक वटा ‘युनिट’को परीक्षण पनि सकिएको छ । अर्को २० मेगावाटको युनिटको पनि आइतबारदेखि परीक्षण थालिएको छ ।
     
    एक सातादेखि १० दिनसम्म परीक्षण गर्न लाग्ने र त्यसपछि विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यसहित तीव्र गतिका साथ काम भइरहेको प्रबन्धक केसीले जानकारी दिए । रघुगङ्गा –४ दग्नाम र वडा नं ५ झिँ को फेदीमा बाँध, छ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र दुई पानी थिग्र्याउने पोखरीको परीक्षण भइसकेको छ ।
     
    तिल्केनीचौरमा विद्युत्गृह निर्माणको काम सकेर जडान भएका उपकरणहरुको परीक्षण थालिएको हो । आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि विद्युत्गृह परिसरमा निर्माण भएको स्विचयार्ड गत जेठ २५ गतेदेखि सञ्चालनमा आएको छ ।
     
    भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स जेपीले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २०७४ मङ्सिर ६ गते छ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सन् २०२२ फेब्रुअरीमा पहिलो, सन् २०२२ फेब्रुअरीमा दोस्रो र २०२५ नोबेम्बरसम्मका लागि तेस्रो पटक म्याद थपिएको थियो ।
     
    चौथो पटक थपिएको समयभित्र आयोजना सम्पन्न हुन लागेको हो । कोरोना महामारी, बाढी, पहिरो जस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजना निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनी जेपीका आयोजना व्यवस्थापक हरिश अग्रवालले बताए ।
     
    भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड भेल सँग विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२।३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता भएको थियो । भारतीय आयात निर्यात एक्जिम० बैङ्कको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्र्याक्ट इपिसी प्रारुपमा राहुघाट जलविद्युत् आयोजना सञ्चालन गरिएको हो ।
     
    कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो । आइभिआरसिएलसँग विसं २०६६ मा ठेक्का सम्झौता भएको थियो । म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठका अनुसार जिल्लामा सबैभन्दा पहिले र सरकारी लगानीमा सञ्चालन भएको राहुघाटलाई जलविद्युत् विकासको ‘गेटवे’ प्रवेशविन्दु मानिएको थियो । 
     
    राहुघाट सुरु भएपछि म्याग्दीमा भित्रिएका १० वटा आयोजना सम्पन्न भइसकेको छन् । ढिलै भए पनि दुई दशकको प्रतीक्षापछि राहुघाट जलविद्युत् आयोजना सम्पन्न भएको खबरले स्थानीयलाई उत्साहित बनाएको श्रेष्ठको भनाई छ । पछिल्लो पटक छनौट भएको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स जेपीले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । 
     
    यस आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता पिपिए गरेको थियो । राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरिडोरअन्तर्गत २२० केभी डबल सर्किट क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा जोडिने छ । त्यसका लागि चार टावर र प्रसारण लाइन पनि बनिसकेको छ । 

     




    images
    images

    Logo