काठमाडौं । देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ । उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा न्यून चापीय क्षेत्र बनेको र उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम उत्तरपश्चिम दिशा तिर सर्ने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, आज दिँउसो देशका हिमाली र पहाडी भूभाग, मधेस प्रदेश तथा वाग्मती र गण्डकी प्रदेशका तराईमा साधारणतया बादल लाग्नेछ भने कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
मधेस तथा कोसी र वाग्मती प्रदेशको तराई भूभागका थोरै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।



