पोखरा, ७ असोजः नेपाल आयल निगमले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण गरेको आधुनिक हवाई इन्धन डिपोबाट पहिलो पटक अन्तर्राष्ट्रिय विमानलाई इन्धन सेवा दिएको छ।
बुधबार साँझ ६ बजेर १८ मिनेटमा पोखरा विमानस्थलमा अवतरण गरेको फ्लाइ दुबईको विमानमा निगमले ५ हजार ५ सय ४० लिटर हवाई इन्धन भरेको हो। यससँगै पोखरा विमानस्थलको नयाँ डिपोबाट अन्तर्राष्ट्रिय उडानका विमानलाई समेत नियमित इन्धन सेवा दिन सकिने आधार तयार भएको छ।
हवाई इन्धन डिपाे सिनामंगलका प्रमुख तथा उपनिर्देशक प्रदीप यादवका अनुसार अन्तर्राष्ट्रिय उडानलाई लक्षित गरेर डिपोमा आवश्यक पूर्वाधार र सुरक्षा मापदण्ड पूरा गरिएको छ।
“पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमानलाई लक्षित गरेर आधुनिक हवाई इन्धन डिपो निर्माण गरिएको हो। यही डिपोबाट पहिलो पटक फ्लाइ दुबईको विमानलाई ५ हजार ५ सय ४० लिटर हवाई इन्धन उपलब्ध गराएका छौँ,” यादवले भने।
उनका अनुसार डिपोबाट पोखरा विमानस्थलमा आन्तरिक उडान गर्ने विमानलाई पनि नियमित रूपमा इन्धन सेवा दिइँदै आएको छ। विमानस्थल परिसरभित्रै निर्माण गरिएको डिपोका कारण विमानलाई इन्धन उपलब्ध गराउने प्रक्रिया थप सहज र सुरक्षित भएको छ।
पोखराको नयाँ डिपोमा ३ हजार ६ सय किलोलिटर हवाई इन्धन भण्डारण गर्न सकिने क्षमता रहेको छ। डिपो परिसरमा १२ सय किलोलिटर क्षमताका तीनवटा ठूला भण्डारण गृह निर्माण गरिएका छन्।
यादवका अनुसार डिपोका सबै भण्डारण गृह अमेरिकी पेट्रोलियम इन्स्टिच्युट ‘एपीआई का मापदण्डअनुसार निर्माण गरिएका छन्। आधुनिक प्रविधि र सुरक्षा मापदण्डलाई प्राथमिकता दिएर डिपो निर्माण गरिएको उनले बताए।
पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु भएसँगै विमानलाई आवश्यक हवाई इन्धन सहज रूपमा उपलब्ध गराउने उद्देश्यले निगमले डिपो निर्माण गरेको हो। डिपोको विस्तृत परियोजना प्रतिवेदन तथा परामर्शसम्बन्धी काम इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकले गरेको हो।
नयाँ डिपोबाट अन्तर्राष्ट्रिय विमानलाई पहिलोपटक इन्धन उपलब्ध गराइएसँगै पोखरा विमानस्थलको अन्तर्राष्ट्रिय उडान सेवाका लागि आवश्यक इन्धन पूर्वाधारसमेत थप व्यवस्थित भएको निगमले जनाएको छ।



