काठमाडौं । महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सरकारी तथा सामुदायिक अस्पताललाई अनुदान रकम दिने गरी सम्झौता गरेको छ ।
अस्पतालको व्यवस्थापन तथा उपचार प्रणालीको सुधार तथा क्षमता वृद्धि गरेर सङ्क्रमणमा परेका बिरामीलाई बचाउन महानगरपालिकाले यस्तो सम्झौता गरेको हो ।
महानगरपालिकाले यसरी सम्झौता गरेका अस्पतालमा वीरेन्द्र सैनिक अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, क्षत्रपाटी निःशुल्क चिकित्सालय, निजामती कर्मचारी अस्पताल, महेन्द्रनारायण निधि मेमोरियल अस्पताल, हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल र मोडल अस्पताल रहेका छन् ।
शुक्रबार सम्झौता भएका अस्पतालमध्ये वीरेन्द्र सैनिक अस्पतालले अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालन गर्नेछ र महानगरपालिकाबाट छ महिनाका लागि गरिएको सम्झौताबमोजिम काम शुरु गर्न पहिलो किस्तास्वरुप रु दुई करोड उपलब्ध गराइनेछ ।
क्षत्रपाटी निःशुल्क चिकित्सालयले ३५ श्ययाको कोभिड अस्पताल सञ्चालन गर्नेछ ।
यसको पूर्वाधार विकासका लागि करीब रु ३० लाख र ३५ श्ययाको कोभिड विशेष अस्पतालको समग्र व्यवस्थापन, आवश्यक जनशक्तिका लागि महानगरले मासिक झण्डै रु ४८ लाख व्यहार्नेछ ।
यो सम्झौता कोभिडको महामारीका विषयमा कामपाले अर्को निर्णय नगरेसम्मका लागि हो ।
त्यसैगरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा १५ भेन्टिलेटर र ५० थान मोनिटर खरीद गर्ने रकम महानगरपालिकाले उपलब्ध गराउनेछ ।
यसरी नै अन्य सम्झौता भएका अस्पतालले पनि आफूलाई कोरोना महामारीसँग जुध्नका लागि आवश्यक पर्ने सामग्री माग गरेकाले सोही अनुरुप महानगरले अनुदान रकम दिने छ ।
महानगरले अनुदान दिएका अस्पतालले आफूले दैनिक दिएको सेवाको विवरण महानगरलाई हरेक दिन पठाउनु पर्ने बताइएको छ । खर्च र लेखा परीक्षण प्रचलित कानूनले दिएको अधिकारबमोजिम रहनुपर्ने छ ।


