काठमाडौं । कोरोना महामारीका बेला अक्सिजनको अभाव देखिएपछि नेपाल आयल निगमले तरल अक्सिजन आयात गर्ने तयारी अघि बढाएको छ । पेट्रोलियम पदार्थको आयात र बिक्री वितरण गर्दै आएको निगमले वर्तमान अवस्थालाई ध्यानमा राखी तरल अक्सिजन आयातमा समन्वय गर्न लागेको जनाइएको छ ।
भारतबाट तरल अक्सिजन खरिदका लागि नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनलाई पत्राचार गरेको छ । यस्तै निगमले खरिद गर्नका लागि सरकारको अनुमति चाहिने भएकाले अनुमतिका लागि निगमले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पनि पत्राचार गरेको जनाएको छ ।
यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग पनि छलफल गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । प्रवक्ता उपाध्यायले भने, “महामारीमा अहिले अक्सिजनको अभाव छ । त्यसो भएको हुनाले निगमले तरल अक्सिजनका लागि समन्वय र सहजीकरण गर्न खोजेको हो, हामीले सीधै खरिद गर्न मिल्दैनध्र आपूर्ति मन्त्रालयले अनुमति दिनुपर्छ, सरकारले अनुमति दिए हामीले ल्याउन पहल गर्छौं ।”
निगमका अनुसार भारतमा उत्पादन अक्सिजन भारत सरकारले वितरण गर्दै आएको छ । नेपालको सीमाबाट नजिक हुने र रुट पनि सहज हुने भएकाले भारतको मुथुरामा उत्पादन भएको अक्सिजन ल्याउन सहज हुनेछ । मथुराबाट एलपी ग्यास ल्याइने हुँदा रुट सहज हुने अनुमान निगमको छ तर यसका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्ने निगमले जनाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई अनुरोध गरेको जनाएको छ । निगमको पत्र पराराष्ट्र मन्त्रालयमा पठाइएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले जानकारी दिए । नेपाल आयल निगम आधिकारिक बिक्रेता भएकाले इन्डियन आयल कर्पोरेसनले उत्पादन गर्ने अक्सिजन नेपाल आयल निगमलाई दिन अनुरोध गर्दै कूटनीतिक पहल पनि अघि बढाइएको मन्त्रालयले जनाएको छ । गोरखापत्रबाट


