काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय कोभिड–१९ का कारण खपत नभएको दूधबाट बनेको धुलो दूध (एसएमपी)को बजार खोज्दै पोल्ट्री क्षेत्रसम्म पुगेको छ । कृषि मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय दुग्ध विकास बोर्डले शनिबार पोल्ट्री क्षेत्रमा आबद्ध उद्योगी तथा किसानसँग छलफल गरेको र एसएमपी खरिदका लागि आग्रह गरेको हो ।
२०७६ चैतदेखि भएको बन्दाबन्दीमा खपत नभएको कच्चा दूधलाई डेरी उद्योगीहरूले एसएमपी, बटरलगायतका दुग्ध सामग्री बनाएर राखेका थिए । तर त्यो खपत गर्नैलाग्दा अर्को निषेधाज्ञा भएपछि उद्योगीहरू अतालिएका छन् । दुग्ध पदार्थ भण्डारमा थन्किएपछि दूध किसानलाई चार महिनादेखि दूधको पैसा दिइएको छैन । एसएमपी र बटर मात्र बिक्री भयो भने किसानको बक्यौता रकम भुक्तानी गर्न सकिने उद्देश्यले पोल्ट्री व्यवसायीलाई एसएमपी खरिदका लाग आग्रह गरिएको बोर्डका अध्यक्ष डा. राजेन्द्र यादवले बताए ।
पोल्ट्री व्यवसायीले मात्र एसएमपी खरिद गरे भने भण्डारमा थन्किएको सबै एसएमपी खपत हुने आकलन आफूहरूको रहेको तर कोरोनाका लागि मात्र नभई पोल्ट्री क्षेत्रले सधैँका लागि धुलो दूध खरिद गर्ने व्यवस्था हुनुपर्ने उनले बताए ।
कृषि मन्त्रालयका निमित्त सचिव डा. विमल निर्मलले पोल्ट्री क्षेत्रमा एसएमपी बिक्री वितरणका लागि अध्ययन गर्न एउटा कार्यदल गठन गर्ने र सो कार्यदलले गरेको अध्ययनका आधारमा बिक्री वितरणलाई अगाडि बढाउने बताए । पोल्ट्री क्षेत्र दुग्ध क्षेत्रका लागि ठूलो बजार रहेको र यसमा कृषि मन्त्रालयले गम्भीर भएर काम गर्ने उनले बताए ।
दूध विकास संस्थाका बजार प्रमुख डा. सञ्जीव झाले कोरोनाका कारण थन्किएको दुग्ध पदार्थका कारण किसानलाई भुक्तानी दिन नसकेको बताए । यसअघि कृषि मन्त्रालयले आफ्नो दूध तथा दुग्ध पदार्थ बेच्नका लागि गृह मन्त्रालय, रक्षा मन्त्रालय र शिक्षा मन्त्रालयलाई पनि गुहारेको थियो तर हालसम्म नेपाली सेनाले मात्र थोरै मात्रामा खरिद गर्न सुरु गरेको छ ।
पोल्ट्रीमा देश आत्मनिर्भर छ । यहाँ प्रतिहप्ता ३०–३५ लाख कुखुरा उत्पादन हुन्छ । त्यही कुखुरा तथा त्यसको चल्लाका लागि मात्र दूध प्रयोग गरिए डेरी क्षेत्रका लागि ठूलो राहत हुन्छ । कुखुराका लागि प्रयोग हुने दानाका लागि मात्र दैनिक चार सयदेखि नौ मेट्रिकटन एसमपी प्रयोग हुने गरेको नेपाल लाइभस्टक इनोभेस प्रोजेक्टका प्रमुख उमेश दाहालले बताए । उनले भने “कुखुराका लागि दैनिक तीन हजार मेट्रिकटन दाना उत्पादन हुन्छ । त्यसमध्ये एक टनमा तीन केजी एसएमपी प्रयोग हुन्छ । यस हिसाबले नौ टनदेखि १० टन दैनिक रूपमा एसएमपी खपत हुने गरेको छ ।
त्यस्तै कुखुरालाई दिइने भ्याक्सिन र अन्य उपचारका लागि मात्र दैनिक १८ सय मेट्रिक टन एसएपी खपत हुने नेपाल पशुपन्छी औषधि व्यवसायी सङ्घका पूर्वअध्यक्ष एवं कान्तिपुर भेट डिस्ट्रिब्युटरका बजार व्यवस्थापन प्रमुख ऋषि बडालले बताए । हप्तामा ३० देखि ३५ लाख कुखुरा उत्पादन हुन्छ । एउटा कुखुरामा चारपटक भ्याक्सिन दिनुपर्छ । त्यस हिसाबले एसएमपी खपत भइरहेको उनले बताए । नेपालका डेरी उद्योगीहरूले उपलब्ध गराउन सके भने भोलिदेखि नै दैनिक १८ सय मेट्रिकटन एसएमपी उठाइदिन सक्ने उनले बताए ।
अहिले कोरोनाका कारण खपत नभएको एसएमपी भण्डारमा राखिएको छ । कोरोना समाप्त भइसकेपछि पोल्ट्री क्षेत्रलाई दिन सकिन्छ कि सकिँदैन भन्नेमा आशङ्का रहेको उनले बताए ।
डेरी उद्योगीहरूका अनुसार अहिले ३२ सय मेट्रिक टन मौज्दात रहेको छ । यो दुई दिनका लागि पनि पुग्दैन । हालसम्म पोल्ट्री क्षेत्रले भारतबाट आयात गरेर कुखुराका दाना तथा त्यसको भ्याक्सिनका लागि एसएमपी प्रयोग गरिरहेका छन् । गोरखापत्र दैनिकबाट