images
images

नेपाल चेम्बरद्वारा ६ सरकारी अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामग्री वितरण


  • 648
    SHARES
  • २०७८ जेठ २ गते आइतबार

    नेपाल चेम्बरद्वारा ६ सरकारी अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामग्री वितरण

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले काठमाडौंका विभिन्न अस्पतालहरूलाई अत्यावश्यक स्वास्थ्य सामग्रीहरू वितरण गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीहरूले काठमाडौंका सरकारी अस्पतालहरूलाई पीपीई सेट, सर्जिकल मास्क, सर्जिकल पञ्जा, भीटामिन सी ट्याबलेट, सिटामोल ट्याबलेट लगायत अत्यावश्यक सामग्रीहरू वितरण गरेको हो । 

    चेम्बरको टोलीले नेपाल प्रहरी अस्पताल, कान्ति बाल अस्पताल, परोपकार मातृ तथा बाल अस्पताल थापाथली, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, छत्रपाटी निःशुल्क अस्पतालमा आइतबार सामग्रीहरू वितरण गरेको हो । 

    चेम्बरले कोभिड–१९ को दोस्रो लहरका कारण उत्पन्न स्वास्थ्य संकट समाधानका लागि विपद् व्यवस्थापन समितिका सभापति एवम् कार्यसमितिका उपाध्यक्ष दीपक कुमार मलहोत्राको संयोजकत्वमा ‘नेपाल चेम्बर कोभिड–१९ केन्द्रीय व्यवस्थापन समिति’ गठन गरी विभिन्न अभियानहरू सञ्चालन गरिरहेको छ । उक्त अभियानअन्तर्गत बिरामीहरूको बढी चाप हुने सरकारी अस्पतालहरूमा अत्यावश्यक स्वास्थ्य सामग्रीहरू वितरण गरिएको चेम्बरले जनाएको छ । 

    वीर अस्पतालका तर्फबाट प्राडा. रमिला श्रेष्ठले स्वास्थ्य सामग्री बुझेका थिए ।  त्रिवि शिक्षण अस्पतालका प्रा. डा. पवनराज चालिसेले सामग्रीहरू बुझेका हुन् । यस्तै छत्रपाटी निःशुल्क चिकित्सालयबाट डा. मनोज श्रेष्ठले स्वास्थ्य सामग्रीहरू बुझेको छ ।

    यस्तै चेम्बरको टोलीले नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर एवम् प्रहरी अतिरिक्त महानिरीक्षक आशा सिंहलाई स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेको छ । कान्ति बाल अस्पतालका निमित्त निर्देशक डा.रामहरि चापागाईँलाई सामग्रीहरू हस्तान्तरण गरेको छ । परोपकार मातृ तथा बाल अस्पतालका डा.आशालक्ष्मी प्रजापतिले सामग्रीहरू बुझेकी हुन् ।

    अस्पतालहरूमा अत्यावश्यक अक्सिजन तथा सिलिन्डरको अभाव देखिएकाले यथासिघ्र सिलिन्डर तथा अक्सिजन कन्सेन्टेटर आयात गरी एक साताभित्र अस्पतालहरूमा वितरण गरिने नेपाल चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए । 

    स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा चेम्बरका अध्यक्ष मल्लसहित वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल, उपाध्यक्ष दीपककुमार मलहोत्रा र उपाध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठ, कार्यसमिति सदस्यहरू नवराज ढकाल र सन्तोष पाण्डेको उपस्थिति थियो ।


    images

    Logo