काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले अपरेशन कोभिड रिलिफ नेपाल अन्तर्गत रहेर कोभिड आईसोलेशन एवम् प्राथमिक उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । महासंघले क्षेत्रपाटीस्थित पुरानो गोर्खा अस्पतालको भवनमा स्थापना गरिएको उक्त आईसोलेशन संचालनमा ल्याएको हो ।
महासंघले उक्त अभियान गएको वैशाख २६ गतेदेखि थालेको थियो । उक्त अभियान अन्तर्गत महासंघले २ वटा आईसोलेशन तथा उपचार केन्द्र, कोभिड १९ सहायता केन्द्र र हेल्लो डाक्टर स्वास्थ्य परामर्श सेवा संचालनमा छन् भने अन्य थप कार्यक्रमहरू पनि संचालनमा ल्याउने योजनामा महासंघ छ । महासंघले काठमाडौं, भक्तपुर र ललिपुरमा गरी २ सय वटा आईसोलेशन वाड बनाउन लागिरहेको छ ।
आईसोलेशनको उद्घाटन महासंघका अध्यक्ष शेखर गोल्छा, पूर्व उपप्रधानमन्त्री सिंह र महानगरपालिकाका उपमेयर खडगी(श्रेष्ठ)ले उद्घाटन गरेका हुन् । आईसोलेशन सेन्टरको प्रभावकारी संचालनमा आ–आफ्नो क्षेत्रबाट सहयोग रहने प्रतिवद्धता उनीहरूले जनाएका छन् ।
यस्तै कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, महानगरपालिका वडा नम्वर १७ का वडाध्यक्ष नविन मानन्धर, पूर्व मन्त्री भिमसेनदास प्रधान, महासंघकै स्वास्थ्य तथा शीप विकास समितिका सभापति हेमराज ढकाल, महासंघको कार्यकारिणी समितिका सदस्यहरू, स्वास्थ्यकर्मी र वडावासीहरूको उपस्थिति थियो ।
महासंघका अध्यक्ष गोल्छाले कोभिड महामारी मुलुकका लागि यतिखेर निकै ठूलो चुनौती भएकाले यो चुनौतीलाई परास्त गरी आम सर्वसाधारणको स्वास्थ्य सुरक्षामा सहयोग गर्न महासंघ दत्तचित्त भई लागेको बताए ।
महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले आम मानिसको स्वास्थ्य सुरक्षानै यतिखेर प्रमुख चासो रहेकाले महासंघले एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियाननै संचालन गरी संक्रमणको चपेटामा परेका नेपाली दाजुभाई दिदीवहिनीहरूलाई सहयोग गर्न हातेमालो गरेको स्पष्ट पारे ।
उक्त आईसोलेशन एवम् प्राथमिक उपचार केन्द्र स्थापना एवम् संचालन गर्ने सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघ र काठमाडौं महानगरपालिका वडा नम्वर १७ बीच गत वैशाख ३० गते एक समझादारीपत्रमा हस्ताक्षर गरिएको थियो ।
सेन्टर अहिले ५० वटा बेडबाट शुरु गरिएको हो । आवश्यकताका आधारमा विस्तार गर्दै पछि १ सय वेडसम्म पुर्याइने योजना महासंद्धले बनाएको छ । उक्त केन्द्रमा कोभिड भई घर वा कोठामा नै आईसोलेशनमा बसी हेरचाह, रेखदेख गर्न सम्भव नरहेका कोभिड विरामीहरूलाई उचित खाना, औषधि, बासस्थानको व्यवस्था गरी स्वास्थ्यकर्मीहरूको निगरानीमा राखी आईसोलेशन सेवा प्रदान गरिने महासंघले जानकारी दिएको छ ।
ै


