काठमाडौं । नेपालमा पहिलो पटक नेपाली ब्राण्डमै हार्मोनियम उत्पादन सुरु भएको छ । हार्मोनियम डाक्टरको रुपमा परिचित विमल शाहले नेपाली ब्राण्डमै अन्तराष्ट्रिय गुणस्तरको हार्मोनियमको उत्पादन सुरु गरेका हुन् । म्युजिकल इन्स्टुमेन्टको परनिर्भरतालाई चिर्ने उद्देश्यका साथ यस्तो उत्पादन सुरु गरिएको शाहले बताए ।
कोरोनाभाइरस महामारीका कारण सरकारले गरेको लकडाउनको समयमा विमलले आफ्नै नाममा ‘विमल’ ब्राण्डको हार्मोनियम उत्पादन सुरु गरेका हुन् । हालसम्म उनले चार सय हार्मोनियम बनाएर बिक्री गरिसकेका छन् । यो ब्राण्डको हार्मोनियममा भारतको चर्चित ‘विना ब्राण्ड’भन्दा गुणस्तरीय रहेको शाहको दाबी छ ।
नेपालमा हार्मोनियमको उच्च माग रहेकोले उनले बताए । सोही मागलाई पूरा गर्न काठमाडौंको सिनामंगलमा उनले हार्मोनियम कारखाना बनाएका छन् । सो कारखानामा नेपाल र भारतका ख्यातिप्राप्त गायक, संगीतकार हार्मोनियम मर्मत र ट्युनिङका लागि समेत आउने गरेको उनले जानकारी दिए ।
शाह आफैले कलकत्तामा हार्मोनियम ट्युनिङसम्बन्धी २ वर्ष तालिम लिएका छन् । हार्मोनियम मर्मतको काम आफन्तबाटै सिकेका उनलाई ट्युनिङ भने कसैले नसिकाएपछि कलकत्ता गएको उनी बताउँछन् ।
हार्मोनियम परम्परागत म्यूजिकल इन्स्टुमेन्ट भए पनि यसलाई आधुनिक म्युजिकल इन्स्टुमेन्टले विस्थापित गर्न सकेको छैन किनभने संगित साधनाका लागि हार्मोनियमको विकल्प पियानो बन्न सक्दैन । हार्मोनियमलाई पियानोले कहिल्यै पनि विस्थापित गर्न नसक्ने उनी बताउँछन् ।
एउटा नयाँ हार्मोनियम बनाउन ७, ८ घन्टा लाग्ने उनले जानकारी दिए । हार्मोनियम व्यवसायबाट निकै सन्तुष्ट देखिएका शाह आफ्नो नयाँ पुस्ताले पनि यसलाई निरन्तरता दिउन् भन्ने चहान्छन् । अहिले उनले श्रीमती, छोरा र भान्जालाई सिकाइरहेको उनले बताए ।
आर्थिक वर्ष २०७६÷०७७ मा विभिन्न मुलुकबाट १४ करोड रुपैयाँभन्दा बढीको म्युजिकल इन्स्टुमेन्ट आयात भएको छ । नेपाली लोकबाजासमेत विदेशबाटै आयात हुने गरेको पाइएको छ । गीत संगीतलगायत मनोरञ्जनका साधन नेपाल पूर्णरुपमा परनिर्भर रहेको छ ।
हार्मोनियम, मादल, वासुरी, तवला, डोलक, पियानो, खैजडीलगायत अधिकांस बाजाका साथै साउण्ड सिस्टम पनि आयात हुने गरेको छ । हाल नेपालमा १ हजार ३ सय ५० बाजाहरु प्रचलनमा रहेको बताइन्छ ।
नेपाल लोकबाजा संग्राहलयका अध्यक्ष रामप्रसाद कँडेलका अनुसार विगतमा नेपालमा १ हजार ३ सय ५० बाजा प्रचलनमा थिए । त्यसमध्ये ६ सय ५५ बाजा अहिले पनि लोक बाजा संग्रहालयमा राहेको छ । त्यत्ति धेरै बाजा भएपनि कुनै बाजाको पनि व्यवसायिकरुपमा उत्पादन नरहेको उनले बताए । सारंगी भने नेपालमै बन्ने गरेको छ । संगीतकार सन्तोष श्रेष्ठका अनुसार एउटा गीतमा कम्तीमा पनि एक दर्जन बाजा प्रयोग हुने गर्छ ।


