काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले सवा २ खर्ब भारतीय रुपैयाँ खुद नाफा कामएको छ । आईओसीले वित्त वर्ष २०२०/२१ मा २ खर्ब १८ अर्ब ३६ करोड भारतीय रुपैयाँ बराबरको नाफा कमाएको हो ।
यो वर्ष आईओसीले ५१ खर्ब ४८ अर्ब ९० करोड भारतीय रुपैयाँ बराबरको कारोबार गरेको थियो । सो बराबरको कारोबारबाट आईओसीले २ खर्ब १८ अर्ब रुपैयाँ नाफा गरेको हो । आईओसीले कमाएको यो नाफा कुल बिक्री परिमाणका आधारमा ४.२३ प्रतिशत हो ।
आईओसीले १ वर्षमा ६२.४ मेगा मेट्रिकटन कच्चा तेलको प्रशोधन गरेको थियो । आईओसीले विश्वका ३२ देशमा आफ्ना पेट्रोलियम उत्पादनहरु बेच्दै आएको छ ।
भारतीय आयल कर्पोरेसनले उत्साहजनक नाफा गरिरहँदा नेपाल आयल निगम धने अहिले मासिक सवा २ अर्ब रुपैयाँ घाटाको अवस्थामा छ । लागत मूल्यभन्दा कममा पेट्रोलियम पदार्थ बेच्नुपर्दा घाटा धान्नै नसक्ने अवस्थामा पुगेको निगमको तर्क छ । जबकी अहिले पेट्रोलियम पदार्थको लागत मूल्यभन्दा बढी कर सरकारले विभिन्न शीर्षकमा लिँदै आएको छ ।


