images
images

माघसम्म शोधनान्तर घाटा २ खर्ब ४७ अर्ब पुग्यो, रेमिट्यान्स ४.९ प्रतिशतले घट्यो


  • 525
    SHARES
  • २०७८ फाल्गुण २७ गते शुक्रबार

    माघसम्म शोधनान्तर घाटा २ खर्ब ४७ अर्ब पुग्यो, रेमिट्यान्स ४.९ प्रतिशतले घट्यो

    काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोड रुपैयाँले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे ७ महिनाको तथ्यांक अनुसार सो परिणाममा शोधनान्तर घाटा देखिएकाे हो । 

    अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८१ करोड ७६ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ७ करोडले घाटामा रहेको छ ।

    समीक्षा अवधिमा चालु खाता ४ खर्ब १३ अर्ब ८६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ४ अर्ब ३९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड २१ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ३ अर्ब ४७ करोडले घाटामा रहेको छ ।

    समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १९.४ प्रतिशतले कमीआई ६ अर्ब ३१ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८०.६ प्रतिशतले वृद्धि भई १६ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ८३ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ९ अर्ब २ करोड रुपैयाँ रहेको थियो ।

    त्यस्तै, समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले कमी आई रु.५४० अर्ब १२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी आई ४ अर्ब ५३ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले बढेको थियो ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८५.४ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २६५.९ प्रतिशतले वृद्धि भई १ लाख ५२ हजार पुगेको छ । यस्तो संख्या अघिल्लो वर्षको सोही अवधिमा ७३.१ प्रतिशतले घटेको थियो ।

    समीक्षा अवधिमा खुद ट्रान्सफर ४.२ प्रतिशतले कमी आई रु.६ खर्ब ३ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.९ प्रतिशतले बढेको थियो ।


    images

    Logo