जलजले । उद्योग प्रभावित स्थानीयवासीको स्वास्थ्यलाई ध्यान दिँदै उदयपुर सिमेन्टले स्वास्थ्य पूर्वाधारको निर्माण गरेको छ । प्रभावित क्षेत्र अन्तर्गत देउरी स्वास्थ्य चौकी उद्योगले प्रयोगशाला र बैंक काउन्टर निर्माण गर्नुको साथै एम्बुलेन्स समेत खरिद गरी हस्तान्तरण गरेको हाे । शनिबार त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीको प्रमुख आतिथ्यमा काउन्टर, प्रयोगशाला र एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।
मुख्यतः त्रियुगा नगरपालिकाको वडा नं ४, ५, ६, ७, ८, १० र १६ का स्थानीयवासीलाई केन्द्रित गरी यस्तो पूर्वाधार निर्माण गरिएको हो । उद्योगबाट निस्कने धुलोलाई कम गर्न उद्योगले ईपी सिस्टम जडान गरेको भए पनि यसका बाबजुद स्थानीय वासिन्दालाई पर्नसक्ने प्रभावलाई दृष्टिगत गरी यस्तो पूर्वाधार निर्माण गरिएको उद्योगका महाप्रबन्धक गोपि न्यौपानेले जानकारी दिए ।
‘हामीले स्थानीयलाई प्रदुषणबाट जोगाउन प्रदुषण नियन्त्रणका उपाय अवलम्बन गरेका छौं । तर, २९ वर्ष पूरानो फ्याक्ट्री भएकोले बेलाबेलामा लिकेज भइरहने हुन्छ । त्यसमाथि पूर्ण रुपमा प्रदुषण नियन्त्रण सम्भव पनि हुँदैन, त्यसैले हामीले स्वास्थ्य जाँचलाई सरल बनाउन स्वास्थ्यचौकीको स्तरोन्नति गरेका हौं’, महाप्रबन्धक न्यौपानेले भने । कम्तीमा लिपिड प्रोफाइलसम्मको प्रयोगशाला स्थापना जरुरी रहेको महशुस गर्न जरुरी रहेको महशुस गरेर उद्योग परिसरको सबैभन्दा नजिक र सबै वडालाई पायक समेत पर्ने उक्त उक्त स्वास्थ्य चौकी प्रयोगशाला स्तरोन्नति गरिएको हो ।
यसबाट सस्तो सरकारी दररेटमा यस भेगका बासिन्दा तथा हाम्रा कर्मचारीहरुले लाभ लिने विश्वास उद्योगले गरेको छ ।
वर्षौदेखि नोक्सानमा रहेको उदयपुर सिमेन्ट उद्योग गत आर्थिक वर्षदेखि मात्रै नाफामा जान थालेको छ । यद्यपि अहिले पनि कम्पनी ठूलो सञ्चित नोक्सानीमा छ । कमजोर आर्थिक अवस्थाका बाबजुद उद्योगले समाजप्रतिको दायित्त्व बोध गरेर उक्त सहयोग गरेको हो । यसका लागि सगरमाथा इन्स्योरेन्स, माछापुच्छ्रे बैंकले समेत सहकार्य गरेका थिए ।
यसका लागि सगरमाथा इन्स्योरेन्सले १५ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ५लाख ६५ हजार रुपैयाँ र अन्य संघ संस्थाको तर्फबाट गरी कुल ३० लाख रुपैयाँ जुटाइएको थियो । यसमा स्वास्थ्य सेवा विभागले एक थान अल्ट्रासाउन्ड मेसिन समेत प्रदान गरेको थियो । अहिले एक्सरे मेसिनका लागि समेत पूर्वाधार तयार गरिएको छ । २५ लाख रुपौँ पर्ने उक्त एक्सरे मेसिन समेत जडान गर्न सके१५ शैयाको अस्पताल निर्माण गर्न सकिन्छ । कार्यक्रममा एम्बुलेन्स र प्रयोगशालाको जनशक्ति व्यवस्थापनका लागि उदयपुर सिमेन्टले स्वास्थ्य चौकीलाई ७ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ ।अब उक्त जनशक्तिको व्यवस्थापन स्वास्थ् चौकी आफैंले गर्नेछ ।

उदयपुर सिमेन्ट सरकारको पूर्ण स्वमित्व भएको सिमेन्ट उद्योग हो । नेपालको राष्ट्रिय गौरवको रुपमा २०४४ सालमा जापान सरकारको सहयोगबाट नेपाल सरकारको पूर्ण स्वामित्व रहनेगरी स्थापना भएको यस उद्योगले २०४९ सालदेखि ब्यापारिक उत्पादन शुरु गरेको थियो ।
मिति २०४५ भाद्र १ गते को तत्कालिन मन्त्री परिषद्को निर्णयानुसार विद्युत, सडक लगायतका पूर्वाधारहरु तथा खानीहरु रहेको जग्गा समेत उपलब्ध गराएको थियो ।पछि २०४६ सालमा उद्योग स्वयंले त्रियुगा नगरपालिका अन्तर्गत वडा नं। ५, ६, ७ र ८ उद्योग परिसरमा ५० बिगाहा १२ कठ्ठा जग्गा र वडा नं। १६ मा ५१३ रोपनी जग्गा खरिद गरेको थियो ।
उदयपुर सिमेन्ट उद्योग यस क्षेत्रमा अवस्थित हुनाले स्थापनाकालदेखिनै यहाँका बासिन्दाले सडक र बिद्युत्को उपभोग गर्न पाएका थिए । उद्योगकै कारणले ठूलो संख्याले प्रत्यक्ष अप्रत्यक्ष रोजगारी पाएका छन् । उद्योगले अहिले मूल्य अभिवृद्वि कर, अन्तस्शुल्क, अग्रिम कर, रोयल्टी लगायत समेत गरी १ अर्बको हाराहारीमा कर बुझाउँदै आएको छ।त्यस्तै, नगरपालिकाले प्रत्येक बोरा सिमेन्ट बापत २.५० रुपैयाँ समेत गरी वार्षिक ५० लाख रुपैयाँ संकलन गरिरहेको छ ।
उद्योगले कोभिडको दोस्रो लहरमा देउरी स्वास्थ्य चौकी र सुकौरा स्वास्थ्य चौकीमा अक्सिजन ग्यासको व्यवस्थापन गरिदिएको थियो । नगरपालिका, विद्युत् प्राधिकरण लगायतलाई लोडर, स्काभेक्टर, ड्रमट्रक लगायतका साधनहरु समयसमयमा उपलब्ध गराउँदै आएको छ ।
गोपी न्यौपाने महाप्रबन्धकको रुपमा आएपछि उद्योग सुचारु रुपमा सञ्चालन भइरहेको छ । आर्थिक वर्ष २०७८र७९ को फाल्गुण २७ गतेसम्ममा उद्योगले लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको छ । उद्योगका अनुसार यो अवधिमा ७५ हजार मेट्रिक टन क्लिङ्कर उत्पादन गर्ने लक्ष्य रहेकोमा ७६ हजार ९ सय मेट्रिक टन क्लिङ्कर उत्पादन भएको छ । अघिल्लो वर्ष ६६ हजार ५ सय ९५मेट्रिक टन क्लिङ्कर उत्पादन भएको थियो । सिमेन्ट बिक्रीका लागि यो अवधिको mक्ष्य १३ लाख २४ हजार बोरा रहेकोमा यो अवधिमा १४ लाख ५६ हजार बोरा बिक्री भएको छ ।


