काठमाडौं । बढ्दै गएको इन्धन खपत घटाउन सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीले साइकल प्रयोगमा जोड दिएका छन् । इन्धन (पेट्रोलियम पदार्थ) को मूल्यवृद्धि र यसको वढ्दो खपतले निम्त्याउनसक्ने अवस्थालाई मध्यनजर गरी बैंकले इन्धन खपत कम गर्ने उद्देश्यका साथ केही सकारात्मक कदमहरु अगाडि बढाएको हो ।
बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई कार्यालय आवातजावत गर्दा साइकलको प्रयोग गर्न तथा हिँडेर कार्यालय आवतजावत गर्न बैंकले उत्प्रेरित गरेको छ। बैंकले इन्धन खपत घटाउने उद्देश्यले नै सकेसम्म चारपांग्रे सवारी साधन प्रयोग गर्दा एक्लै यात्रा नगरी अन्य कर्मचारीहरुलाई समेत सोही साधनमा यात्रा गराउन कर्मचारीहरुलाई उत्प्रेरित गरेको छ ।
साथै सो सम्भव नभएको अवस्थामा सकेसम्म चारपांग्रे सवारी साधनको सट्टा दुईपांग्रे सवारी साधनको प्रयोग गर्न बैंकले अनुरोध गरेको छ । सार्वजनिक सवारी साधनको प्रयोग गरेर कार्यालय आवतजावत गरी इन्धन खपत घटाउने प्रयासमा योगदान दिन बैंकले आफ्ना कर्मचारीहरुलाई आग्रह गरेको छ ।
बैंकले विद्युतीय सवारी साधन खरिद तथा प्रयोगमा वृद्धि ल्याउन सोही अनुसार सवारी साधन कर्जा सम्बन्धि प्रोडक्ट पेपरहरुमा परिमार्जन गरी सो प्रोडक्ट पेपरको प्रवर्द्धन गर्न लागेको छ ।


