काठमाडौं । अब विदेशबाट आएका सामानहरु भन्सार जाँचपास नगरी काठमाडौंसम्म ल्याउन सकिने भएको छ । अर्थ मन्त्रालयले सीमा नाकाबाट आउने ट्रक तथा कन्टेनरलाई चोभारस्थित सुख्खा बन्दरगाहमा ल्याएर जाँचपास गराउनसक्ने व्यवस्था गरेसँगै सीमा नाकाकै भन्सारमा जाँचपास गराउनुपर्ने बाध्यता हट्ने भएको हो । योसँगै चोभार सुख्खा बन्दरगाह सञ्चालन आउने बाटो खुला भएको छ ।
अर्थ मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशन गर्दै कुनै पैठारीकर्ताले सीमा नाकाबाट आउने ट्रक तथा कन्टेनर सम्बन्धित सीमा नाकाको भन्सार कार्यालयमा जाँचपास नगरी अर्कै भन्सारमा जाँचपास गर्न चाहेमा आन्तरिक परिवहनको सुविधा दिइने उल्लेख गरिएको छ । यस्तो परिवहनका लागि भन्सार विभागका महानिर्देशकले तोकेको बाटोको प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ ।
यसरी जाँचपासको सुविधा लिएको वस्तु एलसी खोलेर आयात भएको हुनुपर्ने, सामान ल्याउने ट्रकमा जीपीएस सिस्टम र विद्युतीय ताल्चाको व्यवस्था गर्नुपर्नेछ । यस्तो ताल्चाको नियन्त्रण चोभारस्थित भन्सार कार्यालयको नियन्त्रणमा हुनेछ ।
यद्यपि आफैं गुडाएर ल्याउृने सवारी साधनको हकमा भने यस्तो ताल्चा आवश्यक नपर्ने उल्लेख गरिएको छ । भन्सार जाँचपास नगरी ल्याइएका सामान बीच बाटोमा खोलेर हेर्न नपाइने, गाडी बाटोमा दुर्घटना भएमा वा बिग्रिएमा त्यसको जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ ।
तत्कालको लागि यस्तो सुविधा विराटनगर, वीरगञ्ज, भैरहवा र सिर्सिया सुख्खा बन्दरगाहबाट भित्रिने सामानको हकमा मात्र लागु हुने जनाइएको छ । यद्यपि भन्सार जाँचपास नगरी परिवहन सुविधा दिँदा जोखिम हुने देखेमा त्यस्ता सवारीलाई यस्तो सुविधा नदिने व्यवस्था समेत गर्न सकिने जनाइएको छ ।


