काठमाडौं । ४ वर्षअघि लोडसेडिङ हटाएर वाहवाही बटुलेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफ्नै कार्यकालमा लोडसेडिङ गर्नुपर्ने अवस्थामा पुगेका छन् । भारतबाट बिजुली ल्याएर माग धानिरहेको नेपाल विद्युत् प्राधिकरणले भारतीय बजारमा विद्युत्को मूल्य बढेपछि विद्युत् आपूर्ति गर्न नसक्ने अवस्थामा पुगेको छ । योसँगै औद्योगिक करिडोरहरुमा ३६ घण्टाभन्दा बढीदेखि विद्युत् आपूर्ति नियमित हुन सकेको छैन ।
रुस र युक्रेनको युद्धका कारण अहिल विश्वमा उर्जा संकटको अवस्था छ । यही कारण विद्युतीय उर्जाको मूल्य समेत ह्वात्तै बढेको छ । भारतीय इनर्जी एक्सचेञ्ज बजारबाट बिजुली किन्दा प्रतियुनिट ३५ रुपैयाँसम्म मूल्य पर्न थालेपछि प्राधिकरणले बिजुली किन्न छोडेको छ । यही कारण उद्योगीले विद्युत् कटौतीको अवस्था सामना गर्न थालेका छन् ।
प्राधिकरणले अहिलेको अवस्थामा महँगोमा बिजुली किनेर सस्तोमा बेच्न नसक्ने बताउँदै आएको छ । नेपाली बजारमा औद्योगिक विद्युत्को मूल्य औसत ९ रुपैयाँ पर्छ । ३५ रुपैयाँमा किनेर ९ रुपैयाँमा बिजुली बेच्न नसक्ने प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईको बताउँछन् ।
सुख्खायाम भएका कारण अहिले नेपालको आन्तरिक विद्युत् उत्पादन झन्डै साढे ७ सय मेगावाट मात्रै छ । जबकी नेपालमा अहिले १४ सय मेगावाट भन्दा बढीको बिद्युत् माग छ । आपूर्ति व्यवस्थापन गर्न भारतबाट बिजुली आयात गरिरहेको प्राधिकरण बिजुलीको मूल्य बढेपछि समस्यामा परेको हो ।
अन्तराष्ट्रिय बजारमा मूल्य बढेअनुसार प्राधिकरणले उद्योगीसँग विद्युत्को मूल्य बढाउन पाउँदैन । यस्तो मूल्य विद्युत् नियमन आयोगले निर्धारण गरेअनुसार हुन्छ । यही भएर प्राधिकरण विद्युत् आपूर्ति रोकेर बसेको छ ।


